जनकपुरधाम, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेसँगको सहकार्यको कारण आफ्नो पार्टीमा पनि केही समस्याहरू देखिन थालेको स्वीकार गरेका छन् ।

उनले माओवादीको आन्तरिक समस्याको समाधानका लागि अब जनताको बीचमा जाने र उनीहरूको राय र सुझाव अनुसार उपचार खोज्ने निर्णय लिएको बताएका छन् ।

प्रचण्डले धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै भने, ‘कहिले कांग्रेससँग र कहिले एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग माओवादीमा पनि देखिन थालेको छ । यसलाई पहिचान गरेर उपचार गर्न हामी जनतासँग जाँदैछौं ।’

उनले थपे, ‘पार्टीभित्र विभिन्न तहका परामर्श बैठकहरूबाट यो रोग पहिचान भएको छ । अब यसको उपचारका लागि जनताले मात्र सहि निर्णय दिन सक्छन् ।’ उनका अनुसार पार्टीभित्रका समस्याहरूलाई सम्बोधन गर्दै माओवादीप्रति विश्वास गरेका लाखौं जनताको विश्वास कायम राख्न आवश्यक छ ।

अध्यक्ष प्रचण्डले भने, ‘यो कमजोरीका कारण सबैभन्दा पहिले आफूले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समितिको बैठकले निर्देशन दिएको थियो । त्यसै अनुरूप म यो अभियान थाल्न आएको हुँ ।’

उनले हुलाकी मार्ग वरिपरिका उत्पीडित वर्ग र समुदायको समस्यालाई प्राथमिकतामा राखेर जनतासँग नजिकबाट सम्वाद गर्ने प्रयास गर्दै रहेको पनि बताए ।

‘हुलाकी मार्ग वरिपरिका समुदायमा बसोबास गर्ने जनतालाई बुझ्नका लागि हामी उनीहरूको घरमा बस्ने, उनीहरूले जे खाने त्यही खाने र जस्तोमा बस्छन् त्यही बस्ने प्रयास गर्दैछौं,’ उनले भने ।

अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित यस अभियानले दक्षिण नेपालको सामाजिक र राजनीतिक रुपरेखा परिवर्तन गर्न महत्वपूर्ण योगदान दिने बताए ।

यस अभियानका माध्यमबाट माओवादी पार्टीले जनताको समस्यालाई नजिकबाट बुझ्दै समाधानका उपाय खोज्ने प्रयास गर्ने बताइएको छ ।