सुर्खेत, १८ फागुन । कर्णाली प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विशेष सम्बोधन गर्नका लागि आगामी फागुन २३ गते उपस्थित हुने भएका छन् ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओली काठमाडौँबाट सुर्खेत आउने क्रममा प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् ।

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई काठमाडौँमा भेटेर प्रदेशसभा बैठकमा सम्बोधन गर्नको लागि आधिकारिक पत्र हस्तान्तरण गरेका थिए ।

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम २२९ को उपनियम ९२० बमोजिम राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई प्रदेशसभा बैठकमा सम्बोधन गर्ने अधिकार प्रदान गरिएको बताए ।

प्रदेशसभा सचिव बुढाथोकीले थपे, ‘पाँच शीर्ष पदमा आसीन सम्माननीय व्यक्तित्वहरूले प्रदेश सभामा सम्बोधन गर्न चाहेमा सभामुखले अनुमति दिने व्यवस्था नियमावलीमा गरिएको छ ।’

प्रधानमन्त्री ओली कर्णाली प्रदेशको सुर्खेतमा आयोजित मध्य पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनका लागि आउन लागेका छन् । सोही क्रममा प्रदेश सरकारले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने निम्तो पठाएको हो ।

यसअघि कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद लिमिल्सेनाले पनि प्रदेशसभा बैठकमा विशेष सम्बोधन गरेका थिए ।