आम महिला मोर्चाले काठमाडौंमा विशेष भेला आयोजना गर्ने

काठमाडौं, १८ फागुन । आम जनता पार्टी आवद्ध आम महिला मोर्चाले आगामी फागुन २४ गते काठमाडौंमा विशेष भेला आयोजना गर्ने भएको छ ।
पार्टीको कार्यालयमा आइतबार भएको बैठकमा मोर्चाले यस विशेष भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
मोर्चाका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंको अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभाहलमा भेला आयोजना गरिने छ । भेलामा महिलाका अधिकार, समानता र प्रगति सम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
भेलाको प्रमुख उद्देश्य राज्यको हरेक निकायमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गर्ने संकल्पलाई अघि बढाउनु रहेको मोर्चाले जानकारी दिएको छ ।
यस कार्यमा सबैलाई सहकार्य र समर्थन प्रदान गर्नका लागि सबै महिला र समाजका सदस्यलाई भेला कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।
आम महिला मोर्चाले यस भेलाको माध्यमबाट महिलाका अधिकार र समानताको क्षेत्रमा अझ प्रगति गर्नका लागि सरकारसँग वचनबद्धता प्राप्त गर्ने लक्ष्य राखेको छ ।
यस आयोजनाले महिलाका अधिकारमा वृद्धि, सामाजिक न्याय र समान अवसरका पक्षमा थप जागरूकता र सहयोग जुटाउने अपेक्षा गरिएको छ ।
सार्वजनिक जीवनमा महिलाको प्रभाव र स्थान बलियो बनाउने उद्देश्यले मोर्चाले आगामी दिनहरूमा थप कार्यक्रम र अभियानहरू सञ्चालन गर्ने तयारीमा रहेको पनि जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


