सिरहा, १८ फागुन । सिरहामा एक प्रहरी जवानलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो ।

यादवले विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

महिलाका अनुसार उनले पटक–पटक इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिन जाँदा दर्ता नभएको र त्यसपछि जिल्लामा गएर मात्र उजुरी दर्ता गराउन सकेको बताइन् ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिसमक्ष समेत गुहार मागेकी थिइन् । उनले भनिन्, ‘जाहेरी दिनका लागि गए पनि प्रहरी जवानकै कारण अवरोध उत्पन्न भएको थियो ।’

यद्यपि, इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिले महिलाले कुनै पनि प्रकारको जाहेरी नदिएको दाबी गरेका छन् । सोतिले भने, ‘हामीले अनुसन्धानमा सहयोग पुर्याएका छौं । यो मुद्दामा प्रहरी जवानको सम्लग्नतामा कुनै पनि बाधा परेको छैन ।’

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले पीडित महिलाको जाहेरीका आधारमा कानूनी प्रक्रिया अनुसार जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएपछि यादवलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी जवान यादवमाथि लगाइएको आरोपको गम्भीरतासँगै यस मुद्दामा न्यायिक प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ ।