महावीर युवा कमिटीको नयाँ कार्यसमितिको निर्वाचन २४ गते हुने

जनकपुरधाम, १८ फागुन । महावीर युवा कमिटीले आगामी कार्यसमितिको निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।
निर्वाचन प्रक्रिया फागुन १९ गतेदेखि २४ गतेसम्म तय गरिएको छ । कमिटीको कार्यालय परिसरमा सम्पूर्ण प्रक्रिया सम्पन्न हुने प्रमुख निर्वाचन अधिकृत विश्वनाथ साहले जानकारी दिएका छन् ।
कमिटीको कार्यसमितिको निर्वाचन प्रक्रिया १९ गते सोमवार बिहान १० बजे निर्वाचन नियमावलीको प्रकाशनबाट सुरू हुनेछ । मतदाता नामावली पनि १९ गते बिहान ११ बजे प्रकाशित हुनेछ । त्यस्तै, मतदाता नामावलीमा सुधार गर्न र दावी विरोध गर्नका लागि १२ बजे देखि ३ बजे सम्मको समय दिइनेछ । यसपछि, १९ गते साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ ।
आगामी दिन २० गते मंगलवार उम्मेदवारको मनोनयन पत्र वितरण हुनेछ । मनोनयन फारम दाखिला गर्नका लागि समय बिहान ११ः३० बजे देखि २ बजे सम्म निर्धारित गरिएको छ ।
उम्मेदवारहरूको नामावली ५ बजे प्रकाशित गरिनेछ । २१ गते बुधवार उम्मेदवारमाथि दावी विरोधका लागि विशेष समयको व्यवस्था गरिएको छ । त्यसपछि मनोनयन पत्र फिर्ता लिन सकिनेछ । उम्मेदवारको अन्तिम नामावली पनि ५ बजे प्रकाशित हुनेछ ।
मतदानको दिन २४ गते शनिवार बिहान ८ बजे देखि ३ बजे सम्म निर्धारित गरिएको छ । मतदान पश्चात मतगणना हुने र त्यसको परिणाम घोषणा गरिनेछ ।
कार्यसमितिको निर्वाचनमा विभिन्न पदहरूको लागि उम्मेदवारहरूको मनोनयन प्रक्रिया छ । प्रत्येक पदको लागि मनोनयन शुल्क निर्धारण गरिएको छ । अध्यक्षको लागि १२ हजार, उपाध्यक्षको लागि ८ हजार ५ सय, महासचिवको लागि ८ हजार १ सय, सचिव र कोषाध्यक्षको लागि ७ हजार ५ सय तथा कार्यकारिणी सदस्यहरूको लागि ५ हजार १ सय रुपैयाँ शुल्क तोकिएको छ ।
यसका अतिरिक्त उम्मेदवारहरूले मनोनयन फारमको लागि ५ सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ । नेपाली नागरिकता प्रमाणपत्र र २ प्रति पासपोर्ट साइजको फोटो पनि पेश गर्नु पर्नेछ ।
निर्वाचनमा ६ जना कार्यकारिणी सदस्यहरूको लागि मतदान गर्नु पर्नेछ । यदि यो संख्या ६ भन्दा कम वा बढी भयो भने सो मतपत्र बदर हुनेछ । यसैगरी, मतपत्रमा कुनै पनि चिन्ह, हस्ताक्षर वा पिन राखेर मतदान गर्नु परेमा सो मतपत्र पनि बदर गरिने प्रमुख निर्वाचन अधिकृत साहले बताए ।
यदि कुनै मतदाता मतदान गर्न असमर्थ भएमा, उनी आफ्नो इच्छाअनुसार एक प्रतिनिधिलाई आफ्नो साथ ल्याएर मतदान गर्न सक्नेछन् । यसका लागि विशेष व्यवस्था निर्वाचन समितिले गर्नुपर्नेछ ।
निर्वाचन प्रक्रियामा कुनै पनि विवाद वा मतको बदर गर्ने अधिकार प्रमुख निर्वाचन अधिकृत विश्वनाथ साहको रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


