भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभाव, मेयरले तालाबन्दी गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाए साँचो

जनकपुरधाम, १८ फागुन । महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावले गर्दा लामो समयदेखि कार्यसम्पादनमा कठिनाई उत्पन्न भएको छ ।
यस समस्यालाई समाधान गर्नका लागि मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिहरूले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएका छन् ।
भंगहा नगरपालिका प्रशासनको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी माघ ९ गतेदेखि फागुन ४ गतेसम्म समान्य प्रशासन मन्त्रालयले विभिन्न व्यक्ति सुम्पिएको थियो । पहिलो चरणमा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी विजयकुमार यादवलाई दिइएको थियो । पछि वरिष्ठताको आधारमा रामसागर यादवलाई सुम्पिएको थियो ।
तर, फागुन ४ गते समान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि निमित्तको जिम्मेवारी रामसागर यादवले गुमाएका थिए । यद्यपि, मेयर सञ्जीवकुमार साहका अनुसार आजसम्म होमप्रसाद घिमिरे नगरपालिकामा आएर कार्यभार ग्रहण गरेका छैनन् ।
यस समस्याले भंगहा नगरपालिकाका विकासे कामहरू ठप्प बनाइदिएको छ । मेयर साहका अनुसार टेन्डर आह्वान गर्न नसकेका कारण नगरपालिकाको समग्र कार्य प्रभावित भएको छ । यी समस्याहरू समाधानका लागि उनले तीन दिनसम्म समान्य प्रशासन मन्त्रालय पुगेर गुनासो गरे पनि मन्त्रीले भेट्न समय नदिएको बताएका छन् । अन्ततः, मेयर साह र अन्य जनप्रतिनिधिहरूले तालाबन्दी गरेर प्रमुख जिल्ला अधिकारीलाई साँचो बुझाउने निर्णय लिएका हुन् ।
मेयर साहले भने, ‘प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिका कार्यक्षेत्रमा अवरोध आएको छ । यसले जनताको विकास र सेवामा प्रतिकूल प्रभाव पारिरहेको छ । यसलाई तत्काल समाधान गर्नुपर्ने आवश्यकता छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


