मुख्यमन्त्रीद्वारा सर्लाही जिल्लामा आठवटा अस्पतालको अनुगमन, तत्काल बन्द गर्न निर्देशन

जनकपुरधाम, फागुन १८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही जिल्लामा आठवटा निजी अस्पतालहरूको अनुगमन गरेका छन् । अनुगमनको क्रममा ती आठवटै अस्पतालहरू अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ।
सर्लाही जिल्लाको हरिवन र लालबन्दीमा रहेका विभिन्न निजी अस्पतालहरू अनुगमनको दायराभित्र परेका छन् । ती अस्पतालहरूमा दयन्ती हस्पिटल प्रालि, सर्लाही जीवन हेल्थ केयर प्रालि, स्वाभिमान अस्पताल प्रालि, सरस्वती हस्पिटल प्रालि, लिलावती हस्पिटल, लालबन्दीस्थित भानू अञ्जली हस्पिटल प्रालि, रक्षा हेल्थ केयर हस्पिटल प्रालि र जय भवानी हेल्थ केयर अस्पतालसमेत समावेश छन् ।
अनुगमन टोलीमा प्रदेशका मुख्यमन्त्री सिंहसँगै स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव राजेश कुमार मिश्र र जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुर पनि सहभागी थिए । अनुगमन टोलीले यी अस्पतालहरूमा मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाइएको छ । त्यस कारण तिनीहरूलाई तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा अस्पतालहरूको भौतिक पूर्वाधार, आवश्यक औषधि र चिकित्सा उपकरणहरूको अवस्था जाँच गरिएको थियो । धेरै अस्पतालहरूमा यी सबैको अभाव रहेको थाहा भयो ।
प्रदेश सरकारको निर्णय अनुसार यी अवैध अस्पतालहरूलाई कानूनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न अनुमति नदिने स्पष्ट पारिएको छ । यसका साथै सरकारले निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाउन र यसले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको जनाएको छ ।
मुख्यमन्त्री सिंहले यस घटनालाई गम्भीरतासाथ लिइ स्वास्थ्य सेवामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको र यस प्रकारका अवैध अस्पतालहरूको सञ्चालनलाई रोक्न कडा कदम चाल्ने विश्वास दिलाएका छन् । सरकारले नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्नका लागि विशेष ध्यान दिइरहेको पनि उनले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


