जनकपुरधाम, १७ फागुन । स्ववियु निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय विद्यार्थी मञ्चले आफ्नो संगठन विस्तारलाई तीव्र बनाउने अभियान सुरु गरेको छ । यही क्रममा मञ्चले आज राराब क्याम्पस जनकपुरधाममा इकाई कमिटी गठन गरेको छ ।

विशेष बैठकमार्फत गठित २२ सदस्यीय इकाई कमिटीको अध्यक्षतामा आरती झा चयन भएकी छन् । कमिटी गठन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता संजय कुमार चौधरी, दिपक झा, समीर सिद्दीकी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

स्ववियु निर्वाचनलाई दृष्टिगत गर्दै आयोजित बैठकमा विद्यार्थी नेताहरूले संगठनलाई सशक्त बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय विद्यार्थी मंचका नेताहरूले भने, ‘विद्यार्थी हकहित र शिक्षा सुधारका मुद्दामा निरन्तर संघर्ष जारी राख्नेछौं ।’ स्ववियु निर्वाचनलाई केन्द्रमा राख्दै विद्यार्थी अधिकार सुनिश्चित गर्न अभियान सञ्चालन गर्ने योजना रहेको उनीहरूले बताएका छन् ।

राष्ट्रिय विद्यार्थी मञ्चले विभिन्न क्याम्पसहरूमा आफ्नो संगठनलाई बलियो बनाउँदै विद्यार्थी मुद्दाहरूमा सक्रिय भूमिका खेल्ने रणनीति लिएको छ । संगठन विस्तारसँगै स्ववियु चुनावमा प्रभावशाली उपस्थिति जनाउने तयारी भइरहेको नेताहरूको भनाइ छ ।