जनकपुरधाममा १३३औं मासिक कवि गोष्ठी सम्पन्न

जनकपुरधाम, १७ फागुन । मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण एवम् सामाजिक विकृति तथा विसङ्गतिलाई उजागर गर्ने उद्देश्यका साथ जनकपुरधाममा १ सय ३३ औं मासिक कवि गोष्ठी सम्पन्न भएको छ ।
मैथिली साहित्य समाजको आयोजनामा यस शृङ्खलाले निरन्तरता पाउँदै आएको छ । यसमा भाग लिएका साहित्यकारहरूले यसलाई गिनिज बुक अफ वर्ड रेकर्डमा समावेश गर्नका लागि सुझाव दिएका छन् ।
कवि गोष्ठीमा नेकपा एमाले मधेश प्रदेश सभाका उपनेता दिपेन्द्र ठाकुरले यो लामो समयसम्मको निरन्तरतालाई ऐतिहासिक उपलब्धि मान्दै काशीकान्त झा, मैथिली साहित्य समाजका अध्यक्ष र प्रसिद्ध कविलाई बधाई दिएका थिए । उनले यस शृङ्खलालाई विश्व रेकर्डका रूपमा गिनिज बुकमा समावेश गर्नका लागि सुझाव दिए ।
साहित्यकार एवम् पुराना वामपन्थी नेता शीतल झाको अध्यक्षतामा आयोजित कवि गोष्ठीमा साहित्यकार अयोध्याना चौधरी, डा. रेवतीरमणलाल दास र दिपक झा जस्ता वरिष्ठ साहित्यकारहरुले शुभकामना व्यक्त गरे ।
मासिक कवि गोष्ठीमा कुल ६० भन्दा बढी कविहरू र कवयित्रीहरूले आफ्नो रचनात्मकता प्रस्तुत गरेका थिए । काशीकान्त झा, सुनिल मल्लिक, डा. विरेन्द्र कुमार झा, प्रमोदानन्द झा, डा. गायत्री झा, धिरेन्द्र झा मैथिल, पुनम झा मैथिली, फुलेन्द्रलाल कर्ण, विजय यादव, वैद्यनाथ पासवान जस्ता चर्चित कविहरूको कविता वाचनले गोष्ठीलाई समृद्ध बनाएको थियो ।
यस कवि गोष्ठीले मैथिली साहित्यको विकास, संस्कृतिको संरक्षण र सामाजिक परिवर्तनको प्रभावकारी साधनको रूपमा आफ्ना योगदानलाई अझ सुदृढ बनाउँदै जाने विश्वास जनाएका छन् ।