महोत्तरी, १७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासस्थित पाँचवटा निजी अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा सञ्चालनका मापदण्ड पूरा नगरेको भन्दै जनस्वास्थ्यको सुरक्षा र स्वास्थ्य सेवा सुधारका लागि कडा कदम उठाएका हुन् ।

मुख्यमन्त्री सिंहले बर्दिवासका ८ वटा अस्पतालहरूको अनुगमन गरेका थिए । अनुगमन क्रममा उनले पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एण्ड डेन्टल क्लिनिक, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालि लाई बन्द गर्न आदेश दिएका छन् ।

उनका अनुसार यी अस्पतालहरूले सेवा सञ्चालन अनुमतिपत्र बिना सेवा प्रदान गर्दै आएका थिए । यसले स्वास्थ्य क्षेत्रको गुणस्तरमा नकारात्मक असर पुर्याउने खतरा उत्पन्न गरेको हो ।

मुख्यमन्त्री सिंहले भने, ‘निजी अस्पतालहरूले जनस्वास्थ्यको सुरक्षा र गुणस्तरमा अनावश्यक सम्झौतामा जानु हुँदैन । अस्पतालहरूको सेवा सञ्चालन अनुमति नपाइरहेको अवस्थामा ती अस्पतालहरू बन्द गर्नुपर्छ र उचित मापदण्ड पूरा गर्न निर्देशन दिइन्छ ।’

उनले भने, ‘निजी अस्पतालहरूले मापदण्डअनुसार स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । त्यसको निगरानी आवश्यक छ । यसमा कुनै सम्झौता गर्न सकिँदैन ।’

अनुगमनमा महेन्द्र डेन्टल क्लिनिक प्रालि र जनसेवा हस्पिटल प्रालि मापदण्डअनुसार अनुमतिपत्र प्राप्त अस्पतालका रूपमा चिनिएका छन् । यी अस्पताललाई भने सञ्चालनको अनुमतिपत्र र नवीकरणका लागि निर्देशन दिइएको छ ।

यद्यपि, मुख्यमन्त्री सिंहको अनुगमनमा सम्बन्धित मन्त्रालयका अधिकारीहरू र मुख्यमन्त्री कार्यालयका सचिवहरूको अनुपस्थितिले संसदीय तालमेलको कमी र प्रशासनिक कमजोरीको संकेत गरेको छ । कतिपयले यसबारे आलोचना गर्दै सम्बन्धित अधिकारीहरू बीच समन्वयको अभाव रहेको बताएका छन् ।

तर, मुख्यमन्त्री सिंहले आगामी दिनमा तालमेल र समन्वयको प्रक्रियामा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘अधिकारीहरूको समन्वयका लागि थप सुधार गरिनेछ । ताकि प्रक्रिया थप प्रभावकारी बनाइयोस् ।’