प्रीति राईलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीको सम्मान

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टिम र एपीएफका मिडफिल्डर प्रीति राईलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीको सम्मान प्राप्त भएको छ ।
योङ स्टार फाउण्डेसनले प्रीतिलाई यो प्रतिष्ठित सम्मान प्रदान गरेको हो । उनलाई नगद १ लाख पनि प्रदान गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजना गरिएको एन्फा वुमन्स लिगमा प्रीतिले गरेको उत्कृष्ट प्रदर्शनका कारण यो सम्मान प्राप्त भएको हो । आयोजकले प्रीतिलाई उनको योगदान र खेल कौशलको आधारमा सम्मानित गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा सर्वोत्कृष्ट महिला फुटबल खेलाडी चयन गरिएको थियो ।
सम्मान प्राप्त गरेपछि प्रीतिले खुशीको भाव व्यक्त गर्दै भनिन्, ‘यो सम्मान पाउनु अत्यन्त खुशीको कुरा हो । यसलाई शब्दमा व्यक्त गर्न सक्दिन । मैले सधैं सही मार्ग निर्देशकको साथको सहारा पाएकी छु । यसकै कारण म यहाँसम्म आइपुगेकी हुँ ।’
सम्मान कार्यक्रममा योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले महिला फुटबल खेलाडीलाई सम्मान र प्रोत्साहन दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । ‘महिला खेलाडीहरूलाई प्रोत्साहन र सम्मान दिनु हाम्रो प्राथमिकता हो,’ उनले भने ।
प्रीति राई महिला फुटबलको एक महत्वपूर्ण नाम बनेकी छन् । उनले एपीएफ क्लब र नेपाली राष्ट्रिय फुटबल टिमका लागि महत्त्वपूर्ण योगदान दिइसकेकी छन् ।
महिला लिगमा एपीएफलाई विजेता बनाउन उनका उत्कृष्ट प्रदर्शनका कारण टिमलाई सफलता प्राप्त भएको थियो । प्रीति राई महिला फुटबलको उज्जवल भविष्यको प्रतीक बन्न सफल भएकी छन् ।