एक सातादेखि हराएकी अञ्जली घरभित्र गाडिएको अवस्थामा फेला, श्रीमान् र १० महिने छोरीको पत्तो छैन

जनकपुरधाम, १७ फागुन । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियामा २० वर्षीया अञ्जली यादवको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा शनिबार फेला परेको छ ।
अञ्जलीको शव सडेगलेको अवस्थामा फेला परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अञ्जलीको हत्या गरेर उनका श्रीमान् हरिराम यादवले शव गाडेको हुनसक्ने आशंका गरिएको छ ।
स्थानीयका अनुसार गत शनिबार अञ्जली र उनका श्रीमान् रामहरि यादवबीच विवाद भएको थियो । त्यसपछि भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको बताउँदै छरछिमेकमा खबर गरेका थिए । त्यसपछि मंगलबारदेखि रामहरि र उनका १० महिनाकी छोरी पनि हराएका थिए ।
घरका सबै व्यक्तिहरू एकाएक हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तुर्तै घटनामा अनुसन्धान सुरु गरेको थियो ।
धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले भने, ‘शनिबार दिउँसो १ बजे हामीले शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला पारेका छौं । शव सडेगलेको अवस्थामा थियो । अञ्जलीको हत्या उनका श्रीमान् रामहरि यादवले गरेको हुनसक्छ ।’
शवलाई उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । प्रहरीका अनुसार अञ्जलीको श्रीमान् रामहरि यादव हाल फरार छन् । उनका १० महिनाकी छोरीको समेत पत्तो लागेको छैन ।
प्रहरीले हत्या र अपहरणको घटनामा गम्भीर अनुसन्धान जारी राखेको बताउँदै रामहरि यादवको खोजी तीव्र पारिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


