जनकपुरधाम, १७ फागुन । जनकपुरधामस्थित महेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्स प्रा. लि. का विद्यार्थीहरू आर्थिक शोषणविरुद्ध एकजुट भएका छन् ।

डिप्लोमा अध्ययनरत विद्यार्थी धर्मदेव महतोसहित ३० जना विद्यार्थीहरूले कलेज प्रशासनविरुद्ध आर्थिक अनियमितता, डरधम्की र जबरजस्ती शुल्क असुलीको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा औपचारिक उजुरी दिएका छन् ।

विद्यार्थीहरूले उजुरीमार्फत कलेज प्रशासनले सीटीईभीटीको मापदण्ड विपरीत शुल्क लिएको, गुण्डागर्दी शैलीमा रकम असुल गर्न खोजेको र विरोध गर्ने विद्यार्थीहरूलाई धम्की दिएको आरोप लगाएका छन् ।

विद्यार्थी धर्मदेव महतोका अनुसार, ‘भर्नाको समयमा तोकिएको शुल्कभन्दा बढी नलिने भनिएको थियो । तर, जब प्रमाणपत्र लिने बेला आयो तब थप शुल्क तिर्न बाध्य पार्ने प्रयास भइरहेको छ । विरोध गर्नेहरूलाई धम्क्याउने र डराउने प्रवृत्ति कलेजभित्र मौलाउँदै गएको छ ।’

कसैले बढी शुल्क असुलीको विरोध गरे उसलाई मानसिक यातना दिनुका साथै भविष्य बर्बाद पार्ने धम्की दिइने गरिएको विद्यार्थीहरूले आरोप लगाएका छन् । कलेजका प्रो. नरेश यादव, प्रिन्सिपल दया शंकर साह तथा संचालक समितिलाई जबरजस्ती शुल्क असुलीको मुख्य योजनाकारका रूपमा विद्यार्थीहरूले औंल्याएका छन् ।

‘हामी पढ्न आएका हौं, डराउन होइन । हामी हाम्रो अधिकारका लागि लडिरहेका छौं,’ एक विद्यार्थीले भने ।

विद्यार्थीहरूले सम्बन्धित निकायहरूलाई उक्त कलेज प्रशासनको गतिविधि छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न र दोषी पाइए कानुनी कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थीहरूले उजुरीका लागि सीटीईभीटी केन्द्रीय कार्यालय काठमाडौं, गृह मन्त्रालय मधेश प्रदेश कार्यालय, स्वास्थ्य मन्त्रालय काठमाडौं, सीटीईभीटी मधेश प्रदेश कार्यालय, स्वास्थ्य मन्त्रालय मधेश प्रदेश कार्यालय, पत्रकार महासंघ मधेश प्रदेशलाई समेत जानकारी गराएका छन् ।