महोत्तरी, १७ फागुन । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन आइतबार परिक्रमा यात्रीहरूको स्वागतका लागि मटिहानी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मटिहानी नगर कार्यपालिकाको कार्यालयले नगरवासीहरूलाई परिक्रमा मेलामा सहभागी हुन तथा आगन्तुक तीर्थयात्रीहरूलाई स्वागत गर्न सहज होस् भन्ने उद्देश्यले बिदा घोषणा गरेको हो ।

‘डोला’ (श्रीराम र सीताको प्रतिमा राखिएको डोली) सहितका तीर्थयात्री परिक्रमा यात्राको चौथो दिन मटिहानी आइपुग्नेछन् । मटिहानी महोत्तरी जिल्लामा परिक्रमा प्रवेश गर्ने पहिलो महत्वपूर्ण गन्तव्य भएकाले यहाँ विशेष धार्मिक कार्यक्रम तथा मेला आयोजना गरिनेछ ।

नगर प्रमुख हरिप्रसाद मण्डलका अनुसार मिथिला माध्यमिकी परिक्रमा केवल धार्मिक यात्रा मात्र नभई सम्पूर्ण मिथिला सभ्यता र संस्कृतिको पहिचानसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक परम्परा हो । ‘परिक्रमा यात्राका यात्रीहरूलाई सहजता प्रदान गर्न र नगरवासीको सहभागिता सुनिश्चित गर्न नगरपालिकाले बिदा दिने परम्परा पछ्याउँदै आएको छ,’ उनले बताए ।

मटिहानीसँगै परिक्रमा यात्राका अन्य महत्वपूर्ण विश्रामस्थलहरू पाँचौँ दिन जलेश्वर, छैटौँ दिन महोत्तरी गाउँपालिकास्थित मडै, सातौँ दिन बलवा नगरपालिकास्थित ध्रुवकुण्ड र आठौँ दिन भङ्गहा नगरपालिकास्थित कञ्चनवन छन् ।

यात्रुहरू यी स्थानहरूमा ‘डोला’ सहित पुग्दा धार्मिक मेला, भजन–कीर्तन, प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ ।
मिथिला माध्यमिकी परिक्रमा मिथिला क्षेत्रकै सबैभन्दा पुरानो धार्मिक पदयात्रा हो । यसमा नेपालका धनुषा, महोत्तरी तथा भारतको मधुवनी जिल्लाका विभिन्न धार्मिक स्थलहरू समेटिन्छन् ।

परम्पराअनुसार श्रीरामको ‘डोला’ धनुषाको मिथिला विहारी मन्दिरबाट र श्री सीताको ‘डोला’ जनकपुरधामस्थित सुन्दरसदन मठबाट यात्रा प्रारम्भ गरिन्छ । यात्रुहरू १५ रात विभिन्न स्थानमा बिताएर १६औँ दिन जनकपुरधाममा अन्तरगृह परिक्रमा गरी यात्रा सम्पन्न गर्छन् ।

यात्रामा हजारौँ साधु–सन्त, गृहस्थ तीर्थयात्री तथा भक्तजनहरू सहभागी हुन्छन् । परिक्रमा यात्राको बढ्दो लोकप्रियता तथा हजारौँ श्रद्धालुहरूको सहभागितालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सुरक्षाका लागि विशेष योजना बनाएको छ । परिक्रमा हुने स्थानहरूमा स्वास्थ्य सहायता कक्ष, ट्राफिक व्यवस्थापन, खानेपानी तथा स्वच्छताका लागि आवश्यक प्रबन्ध मिलाइएको छ ।

महोत्तरीका अन्य चार स्थानीय तह जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भङ्गहा नगरपालिकाले पनि आफ्नो–आफ्नो नगर क्षेत्रमा सार्वजनिक बिदा दिने परम्परा पछ्याउँदै आएका छन् ।