जनकपुरधाममा पाँच दिवसीय ललितकला प्रदर्शनी हुँदै

जनकपुरधाम, १७ फागुन । मैथिली कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी जनकपुरधाममा आयोजना गरिँदैछ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा मैथिली विकास कोषको संयुक्त पहलमा फागुन २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने यो प्रदर्शनीले मिथिला क्षेत्रको समृद्ध कलालाई उजागर गर्नेछ ।
प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले फागुन २० गते बिहान ११ बजे मैथिली विकास कोष भवनमा गर्नेछन् । कार्यक्रममा विभिन्न कलासम्बद्ध व्यक्तित्व, कलाकार संस्कृतिविद् तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहने मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।
यस प्रदर्शनीको मुख्य उद्देश्य मैथिली चित्रकला, मूर्तिकला र आधुनिक ललितकलाको प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई कला क्षेत्रमा आकर्षित गर्नु रहेको छ । आयोजकका अनुसार परम्परागत मिथिला चित्रकलालाई आधुनिक शैलीसँग संयोजन गर्दै कला क्षेत्रमा नवीन सम्भावनाहरू खोज्ने प्रयास समेत गरिनेछ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूका अनुसार स्थानीय कलाकारहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने यो एक महत्वपूर्ण अवसर हुनेछ । साथै, प्रदर्शनीमा सहभागी कलाकारहरूको उत्कृष्ट कृतिहरूलाई भविष्यमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा समावेश गर्ने योजना रहेको छ ।
नेपाल टुरिज्म बोर्डको सहकार्यमा आयोजना हुने यो प्रदर्शनी जनकपुरधामलाई कलात्मक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने महत्त्वाकांक्षी योजनाको हिस्सा हो । मिथिला संस्कृतिप्रति बढ्दो आकर्षणका कारण यस प्रदर्शनीले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
आयोजक संस्थाहरूले स्थानीयबासी, विद्यार्थी, अनुसन्धानकर्ता तथा कलाप्रेमीहरूलाई प्रदर्शनीमा सहभागी भई मैथिली कला र संस्कृतिको प्रवद्र्धनमा योगदान दिन आह्वान गरेका छन् ।