जनकपुरधाम, १५ फागुन । धनुषा प्रहरीले एक युवकको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ । धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षीय शहिद अन्सारीको हत्या प्रकरणमा मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षीया अनिता कुमारी यादव संलग्न रहेको पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीपछि धनुषा प्रहरीले अनुसन्धान अगाडि बढाउँदै यादवलाई उनको घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी दिएको छ ।

गत पुस ४ गते मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डको खैरा खोलाको पुलमुनि अन्सारीको शव फेला परेको थियो । उनको निधार तथा घाँटी रेटिएको अवस्थामा बोराभित्र बाँधिएको शव देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा अन्सारीको मृत्यु रहस्यमय देखिएपछि प्रहरी थप अनुसन्धानमा जुटेको थियो ।

प्रहरी अनुसन्धानमा मृतक अन्सारी र अनिता यादवबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । मृतक अन्सारी कतारमा बस्दै आएका थिए । उनले बेलाबेला अनितालाई आर्थिक सहयोग समेत गर्दै आएका थिए । यही सम्बन्धकै कारण अन्ततः अन्सारीको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

अनिताको श्रीमान् राजकिशोर यादव साउदीमा कार्यरत थिए । उनले मंसिर १५ गते नेपाल फर्किएपछि पत्नी अनितासँग मिलेर अन्सारीको हत्या योजना बुनेका थिए ।

अनिताले अन्सारीलाई झुक्याएर नेपाल बोलाएकी थिइन् । उनले अन्सारीलाई आफ्नी श्रीमती गम्भीर बिरामी रहेको बहाना बनाएर नेपाल आउन आग्रह गरिन् । अन्सारी मंसिर २६ गते नेपाल फर्किएका थिए । मंसिर २७ गते अनिताले उनलाई आफ्नै घरमा बोलाएर बन्धक बनाइन् । त्यसपछि, श्रीमान–श्रीमती मिलेर बञ्चरो प्रहार गरी अन्सारीको हत्या गरेका थिए ।

घटना भएपछि अनिताका श्रीमान् राजकिशोर यादव पुनः साउदी फर्किएका थिए । प्रहरीले अनितालाई पक्राउ गरिसकेको छ भने राजकिशोरलाई नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।