जनकपुरधाम, १३ फागुन । सिरहा जिल्लाको प्रशासनिक निकायसँग मिलेर एक भारतीय नागरिकले नक्कली नेपाली नागरिकता प्राप्त गरेको खुलासा भएको छ । भारतीय नागरिक मोसताक मियाँले नेपाली नागरिकता बनाएको मुद्दा अहिले चर्चाको विषय बनेको छ ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको जयनगर ग्रामपञ्चायत देउधा टोल निवासी मोसताक मियाँले सिरहा जिल्लाको नरहा गाउँपालिका–३ को ठेगानामा नागरिकता बनाएको खुलासा भएको छ । उनीसँगको कागजातमा जन्म मिति २०५५ साउन १५ र नागरिकता नम्बर १५०१८०–४३६२ देखाइएको छ ।

नागरिकता कागजातमा उनका बुवा अमानत मियाँ र आमा रजिना खातुनको नाम उल्लेख छ । तर, यो घटनामा एक ठूलो ट्विस्ट भनेको के हो भने स्थानीय जनसमूहका अनुसार मोसताक मियाँ अमानत र रजिना खातुनका छोरा छैनन् । स्थानीयले उक्त नागरिकता प्राप्त गर्न मोसताकले नरहा गाउँपालिकाका वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलसँग मिलेर सेटिङ्ग गरेको बताएका छन् ।

आरोप अनुसार मोसताकले नागरिकता बनाउन कागजात तयार गरेबापत वडाध्यक्ष र वडासचिवबाट मोटो रकम लिएको कुरा खुल्न आएको छ । कागजात तयार भएपछि उनलाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्न सजिलो भएको थियो । यस सम्बन्धमा उजुरीपछि मोसताक सम्पर्कविहीन भएका छन् ।

बुबा बनेका अमानत मियाँले मोसताकसँगको कुनै सम्बन्ध नभएको बताएका छन् । उनले भने, ‘मेरो दुई छोरा छन् । मोसताक मेरो छोरा हैनन् । काम गराउन वडामा गएको बेला सचिवले सही गराएका थिए । थाहै भएन ।’

वडासचिव रामदेव मण्डल भने मोसताकको नेपाली नागरिकता प्राप्त गर्नमा आफूले गल्ती नगरेको बताउँछन् । उनका अनुसार अमानत र रजिना एकैपटक तीन छोराको जन्म दर्ता गरेका थिए र त्यसै आधारमा नागरिकता सिफारिस भएको हो । मण्डलका अनुसार मोसताकको बुबा बनेको कुरा झूठो आरोप हो ।

वडाध्यक्ष रुस्तम अन्सारीले भिडभाडको समयमा मोसताकको नागरिकता सिफारिस गर्दा गल्ती भएको बताए । उनले भने, ‘सचिवलाई पठाएको थिएँ, उहांबाट ठिक छ भनेर सिफारिस आएपछि मैले पनि हस्ताक्षर गरिदिएँ ।’ अन्सारीले मोसताकको नागरिकता यहाँको मान्छे नभएको थाहा पाएपछि उनले सीडीओ अफिसमा नागरिकता खारेज गर्न सिफारिस गरेका छन् ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मोसताकको नागरिकता बनाउने विषयमा मात्र हिजो फोन मार्फत थाहा पाएको बताए । उनले यस विषयमा आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।