जनकपुरधाम, ६ फागुन । सिरहाको नवराजपुरकी रिंकु सदा मृत्यु प्रकरण घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरिएको हो ।

समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच जना सदस्य रहेको प्रहरीले जनाएको छ ।

सो समिति घटनास्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको बताइएको छ ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका–१ भवगतीपुर टोलका विजुलिया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डेको अवस्थामा फेला परेकी थिइन् ।

घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको र त्यसको पञ्चायत गरेर मिलाउने प्रयास गरिएको घटना बाहिर आएको छ ।