२५ वर्षपछि घर फर्किएका धनुषाका चलितर महतोलाई नागरिकता प्रदान

जनकपुरधाम, ५ फागुन । २५ वर्षपछि भारतको पञ्जाबबाट बन्धक अवस्थाबाट मुक्त भएर घर फर्किएका धनुषाको बटेश्वर गाउँपालिका–१ लक्ष्मीनिवासका ५५ वर्षीय चलितर महतोलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ ।
सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले महतोको घरमा पुगेर उनलाई नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी कडरियाले भने, ‘राज्यको प्राथमिक दायित्व आफ्ना नागरिकलाई पहिचान प्रदान गर्नु हो । महतोको नागरिकताको समस्या समाधान गर्न पाउँदा हामी खुशी छौँ ।’
महतो २५ वर्षअघि साथीहरूसँग कामको सिलसिलामा पञ्जाब गएका थिए । त्यतिबेला उनी सम्पर्कविहीन भएका थिए । उनको परिवारले उनको मृत्यु भएको ठानेर हिन्दु परम्परा अनुसार तीन पटक किरियाकर्म गर्ने तयारी गरेको थियो ।
तर, गत कात्तिक १९ गते अचानक घर फर्किएका महतोले आफूलाई पञ्जाबका एक साहुले बन्धक बनाएर जबरजस्ती श्रम गराएको खुलासा गरे । उनका अनुसार साहुले उनलाई बेपत्ता बनाएर आफ्नै पशुपालनका काममा जबरजस्ती काम गराएका थिए ।
महतोको घर फर्कनासाथ प्रशासन र स्थानीय सरकारको सहयोगले उनको नागरिकताको समस्या समाधान भएकोमा उनले धन्यवाद व्यक्त गरे । महतोकी पत्नी र तीन जना छोराछोरीसँगै अहिले घर फर्केका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


