जनकपुरधामको तेलिया पोखरी विवाद : हिन्दु समाजद्वारा संघर्षको चेतावनी

जनकपुरधाम, ३ फागुन । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा भएको विवादलाई लिएर समस्त हिन्दु समाज जनकपुरधामले संघर्षमा जान्ने चेतावनी दिएको छ ।
हिन्दु समाजले मुस्लिम समुदायमाथि विगतमा गरिएको सहमति उल्लंघन गरेको आरोप लगाएको हो ।
हिन्दु समाज जनकपुरधामले एक विज्ञप्ति जारी गर्दै जनकपुरधामका तत्कालिन मेयर लालकिशोर साहको कार्यकालमा २०७८ कातिक २९ गते तेलिया पोखरीको विवाद समाधान गर्न भएको सहमति उल्लंघन भएको दावी गरेको छ ।
उक्त सहमतिमा कुनै समुदायले उक्त स्थानमा धार्मिक संकेत, झण्डा, टहरा आदि निर्माण नगर्ने कुरा स्पष्ट गरिएको थियो ।
तर, मुस्लिम समुदायले त्यस सहमतिको अवज्ञा गर्दै पोखरीको उत्तर–पूर्व डिलमा भौतिक संरचना निर्माण गरेको र धार्मिक झण्डा राखेको आरोप हिन्दु समाजले लगाएको छ । यसरी सहमति उल्लंघन भएको देखेपछि समस्त हिन्दु समाजले आगामी दिनमा संघर्ष तथा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
समाजमा अशांतिको वातावरण सिर्जना नहोस् भनेर हिन्दु समाजले गृहमन्त्रालय र मधेशी आयोगमा निवेदन पठाएको छ । निवेदनमा मुस्लिम समुदायद्वारा बनाइरहेका भौतिक संरचनाहरू भत्काई राखिएका धार्मिक झण्डा र मुहर्रम कमिटीको बोर्ड हटाइने सहमति अनुसार कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले माघ ३० गते जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्र पठाएर टहरा हटाउन परिपत्र गरेको थियो । तर, अहिलेसम्म ती संरचनाहरू यथास्थितिमा रहेको स्थानीय नागरिकहरूको गुनासो छ ।
यो विवादले क्षेत्रीय शान्ति र सामुदायिक समरसतामा असर पुर्याउन सक्ने भन्दै हिन्दु समाजले आफूले उठाएका मुद्दामा कुनै समाधान नपाए संघर्ष गर्ने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


