महोत्तरी, २ फागुन । बर्दिबासस्थित चर्चित होटल पावन मिथिलामा आयोजित एक कार्यक्रममा शाकाहारी खानामा मासुको हड्डी फेला परेको घटनाले गम्भीर विवाद उत्पन्न गरेको छ ।

केही दिनअघि आयोजित कार्यक्रममा सहभागीलाई दिइएको शाकाहारी खानामा मासुको हड्डी देखिएको थियो ।

प्रारम्भमा होटलका कर्मचारीहरूले उक्त आरोप अस्वीकार गरेपनि पछि गल्ती स्वीकार गर्दै माफी मागेका छन् । शाकाहारी खानामा मासु मिसिनु अक्षम्य अपराध भएको भन्दै ती सहभागिले यो घटनालाई निन्दनीय भनेका छन् ।

उनीहरूले यस्तो गैरजिम्मेवार कार्यलाई पवित्र नामको अपमान ठानेका छन् ।उक्त होटल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको स्वामित्वमा रहेको बताइएको छ ।

मन्त्रीकै होटलमा यस्तो घटना घट्नु गम्भीर त्रुटी भएको भन्दै होटलको व्यवस्थापन र सेवा गुणस्तरीयतामा प्रश्न उठाइरहेका छन् । उपभोक्ता अधिकारसम्बन्धी समूहहरूले घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न र जवाफदेही बनाउन माग गरेका छन् ।

यस घटनामा शाकाहारी खानामा मासुको हड्डी भेटिनु केवल सेवा त्रुटी मात्र नभएर धार्मिक दृष्टिकोणले पनि संवेदनशील विषय बनिरहेको छ । स्थानीयहरूले यस घटनालाई गम्भीर समस्या मान्दै भनेका छन् कि मुलुकमा धर्म परिवर्तन गराउने केही समूहहरू सक्रिय रहेको सन्दर्भमा यस प्रकारको घटनाले अझ शंका पैदा गरेको छ ।

होटल प्रशासनले घटनालाई दुर्भाग्यपूर्ण त्रुटी भएको बताउँदै माफी मागेको छ । भविष्यमा यस्ता गल्तीहरू नदोहोरिनका लागि आवश्यक सुधारका उपायहरू अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

तर, स्थानीयबासी र उपभोक्ताहरूको अनुसार मन्त्रीकै स्वामित्वमा रहेको होटलमा यस्तो लापरवाही हुनु गम्भीर र संवेदनशील विषय हो जसले होटलको प्रतिष्ठामा धक्का पुर्याएको छ ।