चुट्किलाका धनी चनावाला राम सेवक पालको भविष्यप्रति अदृश्य सपना

–ज्योति झा
जनकपुरधाम, २८ माघ । २४ गते बिहीबारको दिन, राजविराजदेखि जनकपुरधामसम्मको यात्रा तय गरेको थिएँ । बिहानैको उज्यालो थियो । तर, मनमा उस्तै थकान र असहजता । कारण स्पष्ट थियो—बस । म जहिल्यै पनि बसको नाम सुन्नासाथ रिंगटा लाग्न थाल्छ । शरीरमा अजीब कमजोरी महसुस हुन्छ । र, टाउको दुख्न थाल्छ । तर, समय र परिस्थिति सधैं अनुकूल कहाँ हुन्छ र ? कहिलेकाहीं बाध्यताले यस्तो साधन रोज्नुपर्छ, जसलाई मनले पटक्कै मान्दैन । यही सोंचले म बसमा चढेको थिएँ ।
बसको सिटमा बसेपछि म स्वभाविक रूपमा एकदमै शान्त हुन्छु । मन बोल्न चाहँदैन, आँखाहरू स्वतः बन्द हुन्छन् । यात्रुहरूले हल्ला गरिरहेका थिए । कसैले फोनमा कुरा गर्दै थिए । कसैले खाजा खाँदै थिए । म भने आँखा चिम्लेर गहिरो सोचमा डुब्न थालेको थिएँ । त्यही समय एकाएक बसभित्र हँसाउने चुट्किलाहरूको मधुर आवाज कानमा आइपुग्यो । म अचम्ममा परेँ, यो बसको यात्रामा यस्तो रमाइलो आवाज कहाँबाट आएको होला ?
म आँखा खोलेर चारैतिर हेर्न थालेँ । त्यतिबेला अगाडिको सिटतिर एउटा मानिस देखियो । उनी चनाका सानासाना प्याकेटहरू हातमा लिएर बेचिरहेका थिए । तर, चनाभन्दा उनी बेचिरहेको चिज अझै महत्वपूर्ण थियो—उनका चुट्किला । यात्रुहरूको अनुहारमा हाँसो छरिएको थियो । मानिसहरू उनलाई घेरिरहेका थिए । र, कतिपयले केवल चनाका लागि नभएर उनका चुट्किलाहरू सुन्नकै लागि चना किनिरहेका थिए । म यस दृश्यबाट मन्त्रमुग्ध भएँ । उनी जसरी यात्रुहरूको मनोरञ्जन गरिरहेका थिए । त्यो देखेर मलाई पनि उनको जीवनबारे जान्ने इच्छा जाग्यो ।
मेरो मनले सोध्न कर गर्यो, ‘ए..! यो मान्छे यति हँसिलो छ । तर, यो हाँसोको पछाडि के कुरा लुकेको होला ?’ मैले उनलाई चनाको प्याकेट किन्ने बहानामा बोलाएँ र सोधिहालेँ, ‘तपाईं यो चना बेचेर कतिको कमाउनुहुन्छ ? यो व्यापारले तपाईंलाई कति सन्तुष्टि दिन्छ ?’
उनले आफ्नो अनुहारमा हल्का मुस्कान ल्याउँदै जवाफ दिए, ‘दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्म त कमाइहाल्छु । एक दिनको खर्च कटिहाल्छ । तर, जीवनभरि चलाउन यो पर्याप्त कहाँ हुन्छ र ?’
त्यसपछि हाम्रो कुराकानीले नयाँ मोड लियो । उनी विस्तारै आफ्नो जीवनका पानाहरू खोल्दै गए । उनका नाम राम सेवक पाल रहेछ, उमेरले ४० वर्षका । उनी सप्तरी जिल्लाको शम्भुनाथ बजारमा बस्ने रहेछन् । राम सेवक ४ सन्तानका पिता, आफ्नो परिवार र सन्तानको भविष्य बनाउन दिनरातको परिश्रम गर्दै बस यात्रुहरूबीच घुम्दै चना बेच्ने एउटा अदम्य इच्छा राख्ने व्यक्ति रहेछन् । उनका एक छोरा र तीन छोरी छन् । र ,ती सबै सरकारी विद्यालयमा पढ्छन् ।
राम सेवकले पढाइको महत्त्व राम्ररी बुझेका छन् । किनकि उनी आफैं गरिबी र परिस्थितिका कारण विद्यालयमा मात्र ८ कक्षासम्म पढ्न सके । ‘पढ्न पाएनँ, त्यसैले अहिले म चाहन्छु कि मेरा छोराछोरीले भने राम्रो पढ्न पाऊन् । उनीहरूको भविष्य उज्ज्वल होस्,’ उनी बिस्तारै गम्भीर हुँदै भने ।
राम सेवकको जीवन संघर्षको कथा यहाँबाट सुरु हुन्छ । उनी आफ्ना बुबाले पनि चना बेच्ने काम गरेको सम्झदै भने, ‘मेरो बुवा पनि यही चना बेच्थे । मैले पनि उहाँकै पेसालाई अँगालेँ । बाँच्नको लागि म यो काम गरिरहेको छु । चना बेचेर दैनिकी कट्छ । तर, भविष्यको सपना पुरा गर्न कठिन छ ।’
उनको अनुहारमा हल्का मुस्कान थियो । तर, आँखामा थकानको झलक प्रस्टै देखिन्थ्यो । राम सेवक आफ्नो व्यापारमा रमाउन खोज्छन् । तर, बढ्दो महँगी, चार सन्तानको भविष्य र जिम्मेवारीले उनलाई सधैं चिन्तित बनाइराख्छ । ‘१०–१० का चनाका प्याकेट, ५० को मोमफलि प्याकेट बनाएर बेच्छु । मान्छेलाई म बाँच्नका लागि गाँस, बास र कपास चाहिन्छ भनेजस्तै यो कामले मेरो परिवारको दैनिक खर्च कट्छ । तर, यो कमाइले म आफ्ना बच्चाहरूलाई राम्रो शिक्षा, सुविधा दिन सक्दिनँ । त्यो चिन्ता मलाई सधैं रहन्छ ।’
राम सेवकको दैनिकी कष्टकर छ । उनी प्रतिदिन बस र सडकहरूमा घुमेर चना बेच्दै आफ्नो परिवारको जीविका चलाउँछन् । उनी ठट्टा गर्दै भन्छन्, ‘मेरो चनाभन्दा मेरा चुट्किला नै यात्रुहरूलाई ज्यादा आकर्षित गर्छन् । कहिलेकाहीं त मान्छेहरू चना किन्छन् कि चुट्किला सुन्न भनेर किन्छन् थाहा पाउन मुस्किल हुन्छ ।’
तर, यो ठट्टाको पछाडि राम सेवकको मनमा ठूलो चिन्ता छ । उनी आफ्नो परिवारको वर्तमान अवस्था र चार सन्तानको भविष्यप्रति गहिरो चिन्तित छन् । ‘म त यसमा रमाइरहेँ । तर, मेरो सन्तानको भविष्य यस्तो नहोस् । म विदेश जान चाहन्छु । केही पैसा कमाएर ल्याउन। यतिले जीवन धाउन गाह्रो छ । महँगो युगमा यो कमाइले भविष्य सुनिश्चित गर्न सक्दैन ।’
उनको मनमा देशको अवस्थाप्रति गहिरो निराशा छ । उनी भन्छन्, ‘देशमा तिन तहको सरकार छ । गरीबले पनि कर तिरेका छन् । हामीले पनि तिरिरहेका छौं । तर, गरिब जनताका लागि सरकारले के गरेको छ ? गरीब दिनानुदिन गरीब हुँदैछ । धनी अझ धनी । भ्रष्टाचार त अन्त्य हुने नाम छैन । रोजगारी छैन । शिक्षामा मिलावटी छ । यही कारणले गर्दा नै युवा विदेश जाँदैछन् ।’
राम सेवक आफैं पनि विदेश जाने सोचमा छन् । तर, विदेश जानको लागि पनि पैसा चाहिन्छ । उनी अब पैसा जम्मा गर्न संघर्षरत छन् । ‘देशमा रोजगारी हुन्थ्यो, सुविधा हुन्थ्यो भने कति राम्रो हुन्थ्यो । आफ्नो देशमा बाँच्न सकिन्थ्यो,’ उनी गहिरो सोचमा पर्छन् ।
उनको जीवनको यो यात्रा बसको यात्रा जस्तै अस्थिर छ । उनले हरेक दिन जीवनसँग संघर्ष गर्दै चना बेचिरहेका छन् । तर, मनमा एक अदृश्य सपना बोकेर बाँचिरहेका छन्—आफ्ना छोराछोरीलाई उज्ज्वल भविष्य दिन र जीवनलाई केही सरल बनाउन ।
बसको यात्रामा उनको चुट्किलाले हँसाउने काम गर्छ । तर, उनीभित्रको पीडा कसैले महसुस गर्न सक्दैन ।