जनकपुरधाम–१ मा व्यवस्थित तरकारी बजार निर्माणको पहल

जनकपुरधाम, २२ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले वडा नं.–१ मा व्यवस्थित तरकारी बजार सञ्चालनका लागि आवश्यक तयारीलाई तीव्रता दिएको छ ।
अव्यवस्थित रुपमा सडक किनारमा भइरहेको तरकारी बिक्रीलाई व्यवस्थापन गरी सुरक्षित, स्वच्छ र सहज बजार वातावरण निर्माण गर्ने उद्देश्यसहित काम अगाडि बढाइएको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बजार व्यवस्थापन नगरको प्राथमिकतामा रहेको बताउँदै यसले स्थानीय किसान, व्यवसायी तथा उपभोक्ता सबैलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास व्यक्त गरे ।
उनले व्यवस्थित बजारले यातायात व्यवस्थापनमा सहजता ल्याउनुका साथै शहरको सौन्दर्यसमेत अभिवृद्धि गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बजार व्यवस्थापनका लागि प्रशासनको पूर्ण साथ रहने उल्लेख गर्दै कानुनी मापदण्डअनुसार काम अगाडि बढाउन जोड दिए । उनले सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको औंल्याए ।
वडा नं.–१ का वडा अध्यक्ष दीप नारायण यादवले स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्दै बजार व्यवस्थापनलाई सफल बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए ।
उनले व्यवसायीहरूलाई निश्चित स्थानमा व्यवस्थित रूपमा व्यापार गर्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले बजार व्यवस्थापनमा सुरक्षा निकायले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

उनले सडक अतिक्रमण हटाउने, ट्राफिक व्यवस्थापन मिलाउने तथा शान्ति सुरक्षा कायम राख्न प्रहरी सक्रिय रहने बताए ।
उपमहानगरपालिकाले सरोकारवालाहरूको सहकार्यमा छिट्टै व्यवस्थित तरकारी बजार सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ ।


