काठमाडौँ, २२ बैशाख । संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीले अब महिनाको बीचमै तलब भत्ता पाउने भएका छन् ।

अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शनअनुसार अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था परीक्षणका रूपमा लागू गरिने भएको हो ।

महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पत्राचार गर्दै हरेक महिनाको १५ दिन पूरा भएपछि कर्मचारीलाई तलब भत्ता भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

कार्यालयका अनुसार अर्थमन्त्रीस्तरबाट गत बैशाख ४ गते गरिएको नीतिगत निर्णय र बैशाख १६ गते प्राप्त स्वीकृतिपछि उक्त व्यवस्था कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

सोहीअनुसार प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था मिलाइसकिएको र परीक्षणका रूपमा कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

यो व्यवस्था लागू भएमा कर्मचारीले महिनाभरि कुर्नुपर्ने अवस्थाबाट केही राहत पाउने विश्वास गरिएको छ ।

साथै, वित्तीय अनुशासन र नगद प्रवाह व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।