जनकपुरधाम, २२ बैशाख । मधेश प्रदेशको राजनीतिमा फेरि एकपटक सत्ता समीकरण तीव्र रूपमा बदलिने संकेत देखिएको छ ।

सत्ता साझेदार दल जनमत पार्टीले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ गठबन्धन निर्माणको प्रयास तीव्र भएको छ । यससँगै प्रदेशमा सरकार परिवर्तनको बहस पुनः चर्किएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार विस्थापित गरी आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने रणनीति अघि बढाएको स्रोतहरूको दाबी छ ।

संघीय तहमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकीकरण भइसकेको सन्दर्भमा प्रदेशमा पनि त्यसको प्रभाव देखिन थालेको छ । यद्यपि, औपचारिक जानकारी भने प्रदेशसभामा पुगिसकेको छैन ।

यदि यी दुई दललाई एकीकृत रूपमा मान्ने हो भने मधेश प्रदेशसभामा जसपा नेपाल सबैभन्दा ठूलो दलको रूपमा उभिने देखिन्छ । यही आधारमा जसपा नेपालले अब कांग्रेसलाई बाहिर राख्दै नयाँ सत्ता समीकरण बनाउने गृहकार्य अघि बढाएको बुझिएको छ ।

राजनीतिक वृत्तमा जसपा नेपाल, नेकपा एमाले र जनमत पार्टीबीच नयाँ गठबन्धन निर्माणको प्रयास अन्तिम चरणमा पुगेको चर्चा छ । यस गठबन्धनमार्फत जसपा नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको नेताहरूको भनाइ छ ।

जसपा नेपालकी प्रमुख सचेतक किरण कुमारी साहले औपचारिक रूपमा सरकार गठनको प्रक्रिया सुरु नभएको बताउँदै पनि वर्तमान सरकारप्रति असन्तुष्टि प्रष्ट पारिन् ।

‘सरकार बनाउने वा समर्थन फिर्ता लिने विषयमा औपचारिक छलफल सुरु भइसकेको छैन । तर, वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ,’ उनले भनिन् ।

उनले थपिन्, ‘यदि सरकार परिवर्तनको अवस्था आयो भने ठूलो दलको हैसियतले सरकार नेतृत्वको दाबी स्वतः हुन्छ ।’

यसैबीच, नेकपा एमाले पनि सरकार परिवर्तनको प्रक्रियामा सहभागी हुने संकेत दिएको छ ।

एमाले सांसद शारदा थापाका अनुसार पार्टीभित्र नयाँ सरकारमा सहभागी हुने तयारी भइरहेको छ ।

‘हामी अन्य दलको नेतृत्वमा पनि सरकारमा जाने र वर्तमान सरकारको विपक्षमा उभिने तयारीमा छौं,’ उनले बताइन् ।

जसपा नेपालका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पनि सरकार परिवर्तनको प्रयास भइरहेको पुष्टि गरे । उनले वर्तमान सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको उल्लेख गर्दै छिट्टै दलको औपचारिक निर्णय आउने जानकारी दिए ।

मधेश प्रदेशसभाको अंकगणितअनुसार जसपा नेपालसँग २६, एमालेसँग २४ र जनमत पार्टीसँग १२ सांसद रहेका छन् । यी तीन दलबीच सहकार्य भएमा सहज बहुमत पुग्ने देखिन्छ । यसले सरकार परिवर्तनलाई सम्भव बनाउने विश्लेषण गरिएको छ ।

तर, सत्ता समीकरणको यो खेलबीच जनमत पार्टीभित्रै गम्भीर विवाद चुलिएको छ । पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहले १० सांसदको हस्ताक्षरसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् ।

तर, अर्कोतर्फ नेता महेशप्रसाद यादवले सरकारलाई समर्थन कायमै रहेको भन्दै छुट्टै पत्र बुझाएका छन् ।

पार्टीभित्रको विवाद अझै उत्कर्षमा पुगेको छ । केन्द्रीय अध्यक्ष डा. सीके राउतले भने औपचारिक रूपमा सरकारबाट बाहिरिने निर्णय भइसकेको दाबी गरेका छन् ।

उनका अनुसार बैशाख २१ गते बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

यही विवादका बीच जनमत पार्टीले संसदीय दलको नेतृत्वसमेत परिवर्तन गरेको छ । चन्दनकुमार सिंहलाई नयाँ संसदीय दलको नेता तोकिएको घोषणा गरिएको छ ।

यसअघि महेशप्रसाद यादव संसदीय दलका नेता थिए र उनी हाल प्रदेश सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा छन् ।

यदि जनमत पार्टीभित्रको विवाद समाधान नभए नयाँ गठबन्धन निर्माणमा ढिलाइ हुन सक्ने अनुमान गरिएको छ ।

भदौ २४ गते तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले पदबाट राजीनामा दिएयता मधेश प्रदेशमा राजनीतिक अस्थिरता निरन्तर देखिँदै आएको छ ।

त्यसयता प्रदेशले तीनजना मुख्यमन्त्री पाइसकेको छ भने सरकार बारम्बार परिवर्तन हुने क्रम रोकिएको छैन ।

वर्तमान अवस्थाले मधेश प्रदेश पुनः राजनीतिक संक्रमणको चरणमा प्रवेश गरेको संकेत गरेको छ । आगामी केही दिनभित्रै नयाँ सत्ता समीकरण स्पष्ट हुने आंकलन गरिएको छ ।