काठमाडौं, २२ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै खुला पत्रमार्फत सीमा सुरक्षा, कूटनीति, अर्थतन्त्र र जनउत्तरदायित्वका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले सरकार ‘संसद छलेर चलिरहेको’ आरोप लगाउँदै राष्ट्रिय स्वाधीनता र सुशासनप्रति संवेदनशील हुन आग्रह गरेका हुन् ।

राईले लिपुलेक क्षेत्र हुँदै भारतले कैलाश मानसरोवर जाने सडक विस्तार गरेको विषयमा सरकार मौन बसेको आरोप लगाए ।

उनले महाकाली नदी किनारमा निर्माण भएको सडकप्रति समयमै आपत्ति जनाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन् ।

उनले कूटनीतिक नोट पठाएर मात्रै समस्या समाधान नहुने भन्दै चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघ सम्मिलित बहुपक्षीय वार्ताको पहल गर्नुपर्ने धारणा राखेका छन् ।

साथै, सीमा सुरक्षाका लागि नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

राईले सरकारको प्राथमिकतामाथि पनि प्रश्न उठाउँदै सुकुम्बासी बस्ती हटाउन प्रयोग गरिएका स्रोतसाधनलाई विपद् व्यवस्थापन तथा बाढीबाट क्षतिग्रस्त पूर्वाधार मर्मतमा प्रयोग गर्न सुझाव दिएका छन् ।

विदेशी ऋणको बढ्दो भारप्रति चिन्ता व्यक्त गर्दै उनले आर्थिक अवस्था सुधार गर्न नसक्ने नेतृत्वले पदमा बसिरहनु उपयुक्त नहुने बताएका छन् ।

त्यस्तै, बजेट निर्माण प्रक्रियामा सबै दलका सांसद र जनताका आवश्यकतालाई समेट्नुपर्ने उल्लेख गर्दै उनले सरकारलाई पारदर्शी बन्न आग्रह गरे ।

पत्रकार सम्मेलनमार्फत जनतालाई जवाफ दिनसमेत उनले सरकारलाई चुनौती दिएका छन् ।

राईले चेतावनी दिँदै भनेका छन् कि यदि सरकार जनउत्तरदायी बन्न सकेन भने आफूले निरन्तर रूपमा यस्ता प्रश्न उठाइरहनेछु ।