मालपोत कार्यालयको नाम अब ‘भूमि प्रशासन कार्यालय’

काठमाडौँ, २२ बैशाख । सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गर्दै अब ‘भूमि प्रशासन कार्यालय’ बनाएको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमार्फत यस्तो व्यवस्था गरिएको हो ।
संशोधन अनुसार मालपोत ऐन तथा जग्गा (नापजाँच) ऐनमा प्रयोग हुँदै आएको ‘मालपोत कार्यालय’ शब्द हटाई त्यसको सट्टा ‘भूमि प्रशासन कार्यालय’ उल्लेख गरिएको छ ।
यससँगै सम्बन्धित कानुनी प्रावधानहरू पनि नयाँ नामअनुसार परिमार्जन गरिएको सरकारले जनाएको छ ।
त्यसैगरी, मालपोत अधिकृतको पदनामसमेत परिवर्तन गरी ‘भूमि प्रशासन अधिकृत’ बनाइएको छ ।
सरकारको यो कदम प्रशासनिक संरचनालाई समयानुकूल बनाउने र सेवा प्रवाहलाई अझ स्पष्ट तथा व्यवस्थित गर्ने उद्देश्यले गरिएको बताइएको छ ।
नाम परिवर्तनसँगै अब देशभरका मालपोत कार्यालयहरू ‘भूमि प्रशासन कार्यालय’का रूपमा चिनिनेछन् ।


