जनकपुर साहित्य महोत्सवको सातौं संस्करण आगामी माघ २२ देखि २४ गतेसम्म हुने, वित्तीय चुनौतीबारे आयोजकको गुनासो

जनकपुरधाम, २६ माघ । जनकपुर साहित्य महोत्सवको सातौं संस्करण आगामी २०८२ साल माघ २२, २३ र २४ गते आयोजना हुने घोषणा गरिएको छ ।
महोत्सवका परिकल्पनाकार समेत रहेका प्रतिनिधि सभा सदस्य मनिष झाका अनुसार यो महोत्सवले साहित्य, संस्कृति र समाजको विभिन्न पाटा समेट्दै जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ ।
यसपटकको महोत्सवलाई पनि विशेष कार्यक्रमहरू, चर्चित व्यक्तित्वहरूको सहभागिता र साहित्यिक संवादद्वारा समृद्ध बनाउने हरसम्भव प्रयासहरू गरिएको थियो ।
महोत्सवको आयोजनामा नेतृत्व हस्तान्तरणको अभ्यास गरिरहेको बताउँदै झाले भने, ‘हामी नेतृत्व हस्तान्तरणको प्रक्रियामा छौं । मैले शुरुवातमा परिकल्पना गरे तापनि म अहिले संस्थाको कुनै पनि पदमा छैन ।’ उनले वर्तमान नेतृत्वलाई नै महोत्सव सफल बनाउने जिम्मा दिएको जनाउँदै आफूले हरसम्भव सहयोग पुर्याइरहेको स्पष्ट पारे ।
महोत्सवको तयारीमा आर्थिक समस्या प्रमुख चुनौतिको रुपमा उभिएको उनले बताए । झाले विगतका वर्षहरूमा राज्यबाट घोषणा गरिएको बजेट र सहयोग रकम समयमा प्राप्त गर्न कठिनाइहरू झेल्नुपरेको बताउँदै यसपटक पनि यस्तै समस्या आए कडा कदम चाल्ने चेतावनी दिए ।
‘यदि यसपालि पनि राज्यले बजेट घोषणा गरेर नदिने कोसिस गर्यो भने हामी पत्रकार सम्मेलन गरेर सम्पूर्ण कथा सार्वजनिक गर्नेछौं ।कसले कति कमिशन माग्यो भनेर हामी सबै कुरा खोलिदिनेछौं,’ झाले कडा रुपमा भने ।
उनले तीन वर्षअघि बजेटमा लेखिएको रकम पनि प्राप्त नभएको गुनासो गर्दै भने, ‘संस्थाको नाममा बजेट छुट्याइएको छ भने पनि त्यो पैसा हामीले किन पाएका छैनौं ?’ उनले सरकारका निकायहरूको सुशासन र परिवर्तनको कुरा गरेर वास्तविक समयमा सेटिङ्गको कुरा गर्ने प्रवृत्तिको कडा आलोचना गरे ।
उनले चेतावनी दिंदै भने, ‘यदि फेरि पनि त्यस्तै भयो भने हामी सबै कुरा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं ।’
जनकपुर साहित्य महोत्सवले नेपाली साहित्य र संस्कृति प्रवद्र्धन गर्न ठूलो योगदान पुर्याउँदै आएको छ । तर, यसको दीर्घकालीन सफलताको लागि सरकारी सहयोग र वित्तीय स्पष्टता अपरिहार्य रहेको आयोजकको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


