मिनापका अध्यक्ष झा भन्छन्, ‘निराधार कुराहरूले हाम्रो उद्देश्य र क्रियाकलापलाई प्रभावित गर्न सक्दैन’

जनकपुरधाम, २६ माघ । मिथिला नाट्यकला परिषद् (मिनाप) एक कपोलकल्पित आरोपको शिकार भएको छ । सामाजिक सञ्जालमा एक सूची सार्वजनिक गर्दै केही व्यक्तिहरूले मिनापमाथि अमेरिकी सहयोग संस्था यूएसएआडीको सहकार्यमा सनातन धर्मविरुद्ध कार्यक्रम सञ्चालन गरेको आरोप लगाएका छन् ।
मिनापका अध्यक्ष परमेश झाले उक्त आरोपलाई निराधार र हिन मानसिकताको उपज भएको स्पष्ट गर्दै यस्तो आरोपको भत्र्सना गरेका छन् । ‘मिनापले मैथिली कला र संस्कृतिको प्रवद्र्धन गर्दै आइरहेको छ । मिनापमाथि लगाइएको यो आरोप पूर्णतः गलत र कपोलकल्पित छ । यस्तो झूटो आरोपले हाम्रो उद्देश्य र क्रियाकलापलाई प्रभावित गर्न सक्दैन,’ अध्यक्ष झाले भने ।
उनका अनुसार यूएसएआडी जस्तो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले शिक्षा, स्वास्थ्य, कृषि र सचेतना जस्ता विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । यूएसएआडीसँगको सहकार्यमा मिनापले मैथिली गीति एल्बमहरू ‘आएल आचरु’ र ‘खोता सिगारु’ निकालेको थियो । यी एल्बममा समावेश गीतहरू सनातन धर्मको विरोध होइन, बरु मैथिली कला र संस्कृतिको प्रवद्र्धनमा समर्पित छन् । एल्बममा डा. राजेन्द्र विमल, धीरेन्द्र प्रेमर्षि, रमेश रञ्जन, श्यामसुन्दर शशि र सुनील मल्लिक जस्ता प्रतिष्ठित गीतकारहरूको रचना समावेश छ । यसले मैथिली गीति जगतमा नयाँ उचाइ दिएका छन् ।
झाले थपे, ‘यी एल्बममा समावेश गीतहरू सुनेर जुनसुकै व्यक्ति स्पष्ट हुनसक्छ कि यी गीतहरू कुनै धर्मविरुद्ध होइनन् । आरोप लगाउने महानुभावहरूलाई आग्रह छ कि कृपया यी गीतहरू सुनून् र आफैं मूल्यांकन गरून् कि हामीले कसैको भावना आहत पार्ने कुनै काम गरेका छौं कि छैनौं ।’
उनी भन्छन्, ‘मिनापले मेचीदेखि महाकालीसम्मका २०० भन्दा बढी गाउँ र नगरमा गीति सडक नाटक मञ्चन गरेको थियो । यसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गरेको छ । हामी जनकपुरवासीको सहयोग र सद्भावले आज राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएका छौं । हाम्रो संस्था खुला किताबजस्तै छ । जसलाई विश्वास छैन उनीहरू आएर हाम्रा कार्यक्रम र गीतहरू आफैं सुन्न र बुझ्न सक्छन् ।’
झाले भने, ‘सामाजिक सञ्जालमा कपोलकल्पित कुरा प्रचार गरेर कसैलाई बदनाम गर्नु सजिलो छ । तर, मिथिला नाट्यकला परिषद् यस्ता छद्म भेषीहरूको घोर भत्र्सना गर्दछ । हामी मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा समर्पित छौं । र, यस्ता कपोलकल्पित आरोपहरू हाम्रो उद्देश्यलाई डगमगाउने छैन । सहृदयी जनताहरूलाई यस्ता झूटो कुरामा ध्यान नदिनुहुन अनुरोध गर्दछु ।’
मिथिला नाट्यकला परिषदले भविष्यमा पनि मैथिली कला, साहित्य र संस्कृति प्रवद्र्धन गर्न आफ्नो कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।