जनकपुरधाम, २६ माघ । छैटौं जनकपुर साहित्य महोत्सवको तेस्रो दिन ‘समाज, साहित्य र सिनेमा–३ ‘स’ को अन्तरसम्बन्ध’ भन्ने शीर्षकमा एक महत्वपूर्ण सत्र सम्पन्न भएको छ ।

यो सत्रमा समाज, साहित्य र सिनेमाको आपसी सम्बन्ध, प्रभाव र अन्तरक्रियाका विषयमा गहिरो चर्चा गरिएको हो । वक्ताहरूमा कवि विप्लव प्रतीक, चर्चित अभिनेत्री केकी अधिकारी र अभिनेता तथा लेखक बिजय बराल रहेका थिए । सत्रको सहजकर्ताको रूपमा पूर्णेन्दु कुमार झाले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

सत्रको शुरूवातमा विप्लव प्रतीकले समाज र साहित्यको आपसी सम्बन्धको बारेमा गहिरो दृष्टिकोण राख्दै भने, ‘साहित्य भनेको समाजको ऐना हो । समाजमा भइरहेका घटना, प्रवृत्ति र विकृतिहरूलाई साहित्यले आवाज दिन्छ । हामीले साहित्य मार्फत समाजलाई विश्लेषण गर्ने मात्र होइन, समाजलाई मार्गदर्शन गर्ने पनि प्रयास गर्छौं । आजको समयमा साहित्यले समाजमा रहेका विविध समस्यालाई उजागर गर्दै आवाज विहिनहरूको आवाज बन्ने प्रयास गरिरहेको छ ।’

उनले थपे, ‘समाजमा विद्यमान असमानता, विभेद, अन्यायलाई साहित्यले बलियो रुपमा उठाउनु पर्ने आवश्यकता छ । समकालीन सिनेमा पनि यस्ता मुद्दाहरूमाथि केन्द्रित हुँदै गएको देखिन्छ । यसले समाजलाई सजग गराउने भूमिका निर्वाह गर्छ ।’

विप्लव प्रतीकको भनाइलाई समर्थन गर्दै अभिनेत्री केकी अधिकारीले साहित्य र सिनेमाबीचको अन्तरसम्बन्धलाई उजागर गरिन् । उनले भनिन्, ‘सिनेमा भनेको साहित्यको एउटा दृश्यात्मक रूप हो । साहित्यले जुन भावना, विचार र सन्देशलाई व्यक्त गर्छ । सिनेमा त्यसलाई दृश्य र ध्वनीको माध्यमबाट व्यक्त गर्छ । तर, साहित्यको जस्तो गहिराई प्राप्त गर्न सिनेमा अझै धेरै चुनौतीपूर्ण छ । यद्यपि, अहिलेको समयमा धेरै सिनेमा साहित्यमा आधारित हुँदै बनेका छन् । यसले दर्शकलाई गहिरो सोच्न बाध्य पार्छ ।’

अभिनेत्री अधिकारीले आफ्नो अनुभव शेयर गर्दै भनिन्, ‘सिनेमा समाजलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ । हामीले प्रस्तुत गर्ने पात्र, कथावस्तु र परिवेशले समाजलाई दिशा दिन्छ । विशेष गरेर युवापुस्तामा सिनेमा धेरै प्रभावकारी माध्यम बनेको छ । यसले सकारात्मक परिवर्तन ल्याउन सक्ने गहिरो शक्ति राख्छ । तर, सिनेमा मात्र मनोरञ्जनको साधन बनिनु हुँदैन, यो समाजलाई सन्देश दिन सक्ने माध्यमका रूपमा पनि हेर्नु पर्छ ।’

अभिनेता तथा लेखक बिजय बरालले पनि सिनेमा र समाजको गहिरो सम्बन्धको बारेमा चर्चा गर्दै भने, ‘सिनेमा भनेको समाजको एउटा चौंकाउने साधन हो । यसको बलियो पक्ष भनेको यो दृश्यमा आधारित हुन्छ र यसले तत्काल मानिसहरूको भावनामा परिवर्तन ल्याउन सक्छ । सिनेमा एक शक्तिशाली माध्यम हो । यसले समाजको सामुन्ने धेरै जटिल मुद्दाहरुलाई सजिलोसँग राख्न सक्छ ।’

बरालले अझ थपे, ‘समाज र सिनेमाको सम्बन्ध भनेको अनन्त चक्र हो । समाजमा भएका घटनाहरूलाई सिनेमा झल्काउँछ र सिनेमा समाजमा परिवर्तन ल्याउँछ । अहिलेको समयमा हामीले देखेका विविध सामाजिक मुद्दाहरूलाई सिनेमाले मात्र मनोरञ्जनको सीमामा राखेर हेर्नु हुँदैन, बरु यसलाई सामाजिक उत्तरदायित्वको रूपमा लिनु पर्छ ।’

सहजकर्ता पूर्णेन्दु कुमार झाले समापनमा यस सत्रको निष्कर्ष निकाल्दै भने, ‘समाज, साहित्य र सिनेमा एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । यी तीनै माध्यमले एकअर्कालाई प्रभावित गर्छन् र समाजमा ठूलो प्रभाव पार्छन् । साहित्यले समाजलाई बदल्न सक्ने क्षमता राख्छ भने सिनेमाले समाजलाई सशक्त बनाउन सक्छ ।’

यस प्रकारको सत्रले जनकपुर साहित्य महोत्सवलाई अझै समृद्ध बनाएको र समाज, साहित्य तथा सिनेमाबीचको सम्बन्धलाई प्रस्ट रुपमा बुझ्न मद्दत पुर्याएको सहभागीहरूले बताए ।