जनकपुरधाम, २६ माघ । जनकपुरधामस्थित ऐतिहासिक राम मन्दिरको दक्षिण प्रवेशद्वारको शिलान्यास शनिबार विशेष समारोहबीच सम्पन्न भएको छ ।

मधेश प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरको संसदीय विकास कोषको सहयोगमा निर्माण हुन लागेको प्रवेशद्वारको लागत डेढ करोड रुपैयाँ अनुमान गरिएको हो ।

शिलान्यास कार्यक्रमको दौरान ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले संयुक्तरूपमा प्रवेशद्वार निर्माणको थालनी गरेका छन् ।

प्रवेशद्वार निर्माणका लागि संसदीय कोष, उपमहानगरपालिका र शहरी विकास मन्त्रालय कोषको संयोजन गरिएको छ । ५० लाख रुपैयाँ ठाकुरको संसदीय कोषबाट, ५० लाख जनकपुरधाम उपमहानगरपालिकाबाट र बाँकी ५० लाख प्रतिनिधि सभा सदस्य मनीष झाको समन्वयमा शहरी विकास मन्त्रालयबाट जुटाइएको छ ।

उक्त प्रवेशद्वारसँगै राम मन्दिरको पूर्वतर्फ रहेको पार्कको विकासका लागि पनि जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख रुपैयाँको बजेट छुट्याएको छ । महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले यो विकासका लागि डीपीआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट) तयार भइसकेको जानकारी दिए ।

जनकपुरधाममा धार्मिक पर्यटनको प्रवद्र्धनका लागि राम मन्दिरको महत्व झन् बढ्दै गएको सन्दर्भमा यस प्रवेशद्वारको निर्माणले पर्यटक र भक्तजनका लागि थप आकर्षण थप्ने महावीर युवा कमिटीका अध्यक्ष गुप्ताले विश्वास व्यक्त गरेका छन् ।

शिलान्यास समारोहमा राम मन्दिरका महन्थ राम गिरी, वडा नम्बर–४ का कार्यबाहक अध्यक्ष महेश कुमार साह, महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्ता, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, माँ जानकी यातायात प्रा.लि.का अध्यक्ष मनोज कुमार चौधरी, जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्य राकेश बिक्रम साह, जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीतेन्द्र महासेठ, पूर्वबरिष्ठ उपाध्यक्ष मनिष रमण साहलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिती रहेको थियो ।