‘उज्यालोको यात्रा’मा कुलमान घिसिङको दृष्टिकोण

जनकपुरधाम, २६ माघ । जनकपुरधाममा जारी छैटौं जनकपुर साहित्य महोत्सवको तेस्रो तथा अन्तिम दिनको सत्रमा ‘उज्यालोको यात्रा’ शिर्षक अन्तर्गत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मन्तव्यले महोत्सवको माहोललाई थप उज्यालोमय बनाएको छ ।
सहजकर्ता कुन्दन झाले सञ्चालन गरेको उक्त सत्रमा घिसिङले नेपालमा विद्युत क्षेत्रमा हासिल गरिएको प्रगति, चुनौती र सम्भावनाहरूको विषयमा गहिरो चर्चा गरेका हुन् ।
कार्यकारी निर्देशक घिसिङले आफ्नो नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले कसरी लोडसेडिङ अन्त्य गरेको थियो भन्ने विषयमा विगतका अनुभवहरू बाँडे । ‘नेपालमा लोडसेडिङको सन्त्रास केवल एक दशक अघिको मात्र कुरा हो । जतिबेला मानिसहरू दिनको १८ घण्टा अन्धकारमा बस्न बाध्य थिए । अहिले त्यो समय इतिहासको पानामा सीमित भइसकेको छ,’ उनले भने । घिसिङको नेतृत्वमा सन् २०१६ मा लोडसेडिङको समस्या समाधान गर्न थालिएको थियो । र, अहिले नेपाल प्रायः लोडसेडिङमुक्त छ ।
घिसिङले थपे, ‘नेपालमा विद्युतको माग र आपूर्तिबीचको सन्तुलन कायम राख्नु चुनौतीपूर्ण कार्य थियो । हामीले व्यवस्थापन, पारेषण लाइन विस्तार र उत्पादन क्षेत्रमा व्यापक सुधारहरू गरेका छौं । यी सुधारहरूको प्रभाव आज हामी सबैले महसुस गरिरहेका छौँ । उज्यालोको यो यात्रा केवल एउटा प्रयास नभएर हजारौं व्यक्तिको मिहिनेतको नतिजा हो ।’
सत्रमा सौर्य उर्जाको महत्वमा पनि चर्चा गरियो । घिसिङले भने, ‘हामीले जलविद्युत उत्पादनमा प्रगति गरिसकेका छौँ । तर, सौर्य ऊर्जा पनि भविष्यको महत्वपूर्ण आधार हो । नेपालमा जलविद्युतले ठूलो योगदान पुर्याए पनि अब हामीले ऊर्जा मिश्रणलाई विविधीकरण गर्नुपर्छ । सौर्य उर्जा भनेको स्वच्छ, नवीकरणीय र निरन्तर उपलब्ध स्रोत हो । यसको उपयोग गरेर हामी अझ बढी उज्यालोको यात्रा तय गर्न सक्छौँ ।’
घिसिङका अनुसार प्राधिकरणले सौर्य उर्जालाई प्रवद्र्धन गर्न थुप्रै योजनाहरू अगाडि बढाइरहेको छ । ‘नेपालमा पर्याप्त सौर्य उर्जाको क्षमता छ । हामीले यसलाई अझ राम्रोसँग उपयोग गर्न सक्यौँ भने देशभरका दुर्गम ठाउँहरूमा समेत विद्युत पुर्याउन सक्छौँ,’ उनले भने ।
घिसिङले नेपाल विद्युत प्राधिकरणले छिमेकी राष्ट्रहरूसँग गरेको विद्युत व्यापारसम्बन्धी छलफल पनि प्रस्तुत गरे । ‘नेपालमा अब विद्युतको अभाव छैन । हामीले भारतलगायतका छिमेकी देशहरूलाई विद्युत निर्यात गर्न थालिसकेका छौँ । आगामी वर्षहरूमा यो निर्यातबाट ठूलो आम्दानी गर्ने सम्भावना छ,’ उनले भने । नेपालले जलविद्युतको भरपूर स्रोतलाई सदुपयोग गर्न सकेमा देशको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउन सकिने घिसिङको विश्वास छ ।
घिसिङले जनसहभागिताको महत्वलाई पनि जोड दिए । ‘उज्यालोको यात्रा भनेको केवल प्राधिकरणको यात्रा होइन, यो हामी सबैको साझा यात्रा हो । प्रत्येक नागरिकले विद्युतको सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान दिनुपर्छ । अनावश्यक विद्युत खपत नियन्त्रण गर्नुपर्छ र ऊर्जा दिगोपनतर्फको मार्गमा अघि बढ्नुपर्छ ।’
सत्रका अन्त्यमा सहजकर्ता कुन्दन झाले यस महोत्सवले जनकपुरधामलाई उज्यालोमय बनाउन घिसिङजस्ता व्यक्तित्वहरूको उपस्थितिले ठूलो महत्व रहेको बताए । घिसिङको विचारलाई धेरैले प्रशंसा गरे भने महोत्सवको अन्तिम दिन ‘उज्यालोको यात्रा’ सत्रले उपस्थित दर्शकहरूलाई गहिरो सोच र प्रेरणा प्रदान गरेको थियो ।
घिसिङको उज्यालोको यात्राले नेपालको ऊर्जा क्षेत्रलाई उल्लेखनीय स्थानमा पुर्याएको पाइन्छ । लोडसेडिङको समाप्ति, सौर्य उर्जा प्रवद्र्धन र विद्युत निर्यातजस्ता महत्त्वपूर्ण मुद्दाहरूमा घिसिङले राखेको दृष्टिकोणले उज्यालोमय भविष्यको आशा प्रस्तुत गर्यो ।
जनकपुर साहित्य महोत्सवको यो सत्र केवल एउटा चर्चा मात्र नभएर नेपालका लाखौं जनताको उज्यालोको यात्रामा गरिएको प्रतिबद्धता र समर्पणको अभिव्यक्ति थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


