जनकपुरधाम, २६ माघ । जनकपुरधाममा जारी छैटौं जनकपुर साहित्य महोत्सवको तेस्रो तथा अन्तिम दिन ‘आनन्दको खोजी’ भन्ने सत्रमा वक्ता घनश्याम खड्काले गहिरो दर्शन र जीवन दर्शनका कुरा प्रस्तुत गर्दै जीवनमा वास्तविक आनन्दको खोजी कसरी सम्भव छ भन्नेबारेमा आफ्ना गहकिला भनाइहरु राखेका छन् ।

खड्काले आफ्नो भनाइको सुरुवात आत्म–अन्वेषणबाट गरेका थिए । उनले भने, ‘आनन्दको खोजी केवल बाह्य वस्तुहरूमा आधारित हुनु हुँदैन । हामी बाहिरी दुनियाँमा स्थायी आनन्द खोज्दा असन्तुष्टिको कारण बन्छ । वास्तविक आनन्द भने हाम्रो भित्री यात्रा, हाम्रो मनको स्थिरता र आत्मबोधमा निहित छ ।’ मानिसहरू प्रायः भौतिक सम्पत्तिमा खुशी खोजेपनि त्यस्ता खुशी अस्थायी हुने उनले बताएका थिए ।

उनले हाम्रो समाजले खुशीको परिभाषा भौतिकता र सफलतासंग जोडेको उल्लेख गर्दै भने, ‘समाजले हामीलाई सिखाएको खुशीको परिभाषा प्रायः धन, प्रसिद्धि र भौतिक सुखसँग सम्बन्धित हुन्छ । तर, यी सबै चीजहरू अस्थायी हुन् । जब हामी भौतिक सुखमा मात्र भर पर्छौं तब हामी निराशा, असन्तुष्टि र मानसिक तनावको शिकार बन्छौं ।’

खड्काले मानिसलाई सधैं बाहिरी संसारमा सफल हुन खोज्नुको सट्टा आफ्नो भित्री संसारमा ध्यान दिन आग्रह गरे । उनले आत्मअनुशासन, ध्यान र आन्तरिक शान्तिमा आधारित आनन्दको खोजी गर्नुपर्ने कुरामा जोड दिए । ‘हाम्रो मानसिकता र भावनात्मक स्थिरता नै साँचो खुशीको आधार हो,’ उनले भने ।

आधुनिक युगको जीवनशैलीलाई लिएर खड्काले मानिसहरू दिन प्रतिदिन मानसिक तनाव, चिन्ता र अवसादको चपेटामा पर्ने गरेको बताए । ‘आधुनिक जीवनशैलीले हामीलाई लगातार बाहिरतिर धकेलिरहेको छ,’ खड्काले भने, ‘हामी सधैं व्यस्त छौं, सधैं केही न केही पाउन हतार गरिरहेका छौं । तर, हामीले कहिले आफ्ना मनको शान्तिका लागि समय दिइरहेका छैनौं ।’

यस सन्दर्भमा खड्काले मानिसहरूलाई आफूभित्रको कमजोरीलाई स्वीकार्न र आफ्नो आत्मलाई बुझ्न आवश्यक रहेको बताए । उनले आत्मचिन्तन र स्वचिन्तनको महत्त्वलाई उजागर गर्दै भने, ‘आफूलाई चिन्नु नै पहिलो पाइला हो । जबसम्म हामी आफैंलाई राम्रोसँग बुझ्दैनौं, तबसम्म साँचो आनन्द प्राप्त गर्न असम्भव हुन्छ ।’

सत्रको दौरान खड्काले धार्मिकता र अध्यात्मिकता बीचको सम्बन्धको पनि चर्चा गरे । ‘धार्मिकता र अध्यात्मिकता भनेको बाहिरी पूजापाठ भन्दा भित्री शुद्धि हो,’ उनले भने, ‘धेरै मानिसहरु धर्मको नाममा बाहिरी अनुष्ठानलाई बढी महत्त्व दिन्छन् । तर, साँचो अध्यात्म भनेको आत्माको शुद्धता, मनको शान्ति र परोपकारी भावनामा निहित छ ।’

सत्रको अन्त्यतिर सहभागीहरूलाई आफ्नो दैनिक जीवनमा ध्यान, योग र आत्मअनुशासनलाई कसरी समाहित गर्न सकिन्छ भन्नेबारे सुझाव दिएका थिए । उनले भने, ‘ध्यान र योग जीवनमा अनुशासन र शान्ति ल्याउने शक्तिशाली साधन हुन् । हाम्रो मनलाई नियन्त्रणमा राख्न र बाहिरी परिस्थितिहरूको प्रभावबाट मुक्त हुन यी विधिहरू अति आवश्यक छन् ।’

सहजकर्ताको भूमिका निभाइरहेकी समा थापाले सत्रलाई राम्रोसँग सञ्चालन गर्दै वक्तासँग विभिन्न प्रश्नहरू उठाइन, यसले सत्रलाई अझ रोचक बनायो । उपस्थित श्रोताहरूले पनि वक्ताको विचारलाई निकै रुचाए र सत्रको अन्त्यमा विभिन्न प्रश्नहरू गर्दै अन्तक्र्रियामा सहभागी भए ।

महोत्सवको तेस्रो तथा अन्तिम दिनको सत्र ‘आनन्दको खोजी’ गम्भीर जीवन दर्शन, मानसिक स्वास्थ्य र आत्मअन्वेषणका सन्देशहरू बोकेर सम्पन्न भयो ।