जनकपुरधाम, २५ माघ । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवलाई नेशनल सोशल वेल्फेयर एवार्ड २०२४ बाट सम्मानित गरिएको छ ।

चुरे भावर तथा वन विनाशको संरक्षणका लागि मुल्यवान योगदान गरेवापत काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत यादवलाई शिल्ड र सम्मानपत्र प्रदान गरिएको हो । सोे सम्मान कार्यक्रम भिजन मिडियाको आयोजनामा सम्पन्न भएको हो ।

अभियन्ता यादवले विगत सात वर्षदेखि चुरे क्षेत्रको वनजंगल संरक्षण र भूमिहिन नागरिकहरूको अधिकार प्राप्तिको लागि निरन्तर संघर्ष गर्दै आएका छन् । यसबीच उनले मधेश प्रदेशमा हुने वातावरणीय संकटलाई रोक्न र संघीय सरकारको ध्यानाकर्षण गराउन विभिन्न चरणका आन्दोलनहरू गरेका छन् ।

यादवको अभियानले विशेष गरी चुरे क्षेत्रको पानी स्रोतको संरक्षणमा केन्द्रित भएको छ । मधेश क्षेत्रमा बढ्दो पानीको संकटलाई सम्बोधन गर्न यादवले सप्तरीबाट काठमाडौंसम्म पैदल यात्रा गर्दै एक महिनासम्म शान्तिपूर्ण आन्दोलन चलाएका थिए । यस अभियानले सरकारको ध्यान चुरे क्षेत्रको वन संरक्षण र पानी संकटतर्फ तानेको थियो ।

अभियन्ता यादवले मधेश प्रदेशमा भूमिहिन गरिबहरूको हक अधिकारका लागि पनि निरन्तर आवाज उठाउँदै आएका छन् । भूमिहिन नागरिकहरूले आफ्नो जमिनप्रति अधिकार पाउनुपर्ने माग राख्दै उनले विभिन्न चरणका आन्दोलन, रिले अनसन र आमरण अनसनसमेत गरेका छन् । मधेशमा भूमिहिन किसानहरूको अवस्था सुधार गर्न उनले मधेश सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाउँदै आएका छन् ।

यादवले चुरे क्षेत्रको वन र पानीको संकटले समग्र देशको भविष्यलाई खतरा निम्त्याउन सक्ने चेतावनी दिँदै संघीय सरकारसँग ठोस कदम चाल्न आग्रह गरेका छन् । उनका अनुसार चुरे क्षेत्रमा वन विनाशले गर्दा जलवायु परिवर्तन र भूमिगत पानीको स्रोतमा ठूलो असर परेको छ । उनले भने, ‘यदि अहिले नै कदम नचालिए आगामी पुस्ताले पानी र वनजंगलको अभावमा ठूलो संकटको सामना गर्नुपर्छ ।’

यादवले आफूले पाएको सम्मान सम्पूर्ण चुरे क्षेत्रको संरक्षणमा लागेका अभियन्ता र भूमिहिन नागरिकहरूको संघर्षको प्रतिफल भएको बताए ।