डिजिटल युगमा पठन–संस्कृतिको परिवर्तन र चुनौतीबारे गहन छलफल

जनकपुरधाम, २५ माघ । जनकपुरधाम साहित्य महोत्सवको ६औं संस्करणको दोस्रो दिनको दोस्रो सत्रमा ‘डिजिटल युगमा पठन–संस्कृति’ विषयमा भएको गहन छलफलले डिजिटल प्रविधिले पठन संस्कृतिमा आएको परिवर्तन, चुनौती र सम्भावनाबारे महत्वपूर्ण बहस गरिएको छ ।
कार्यक्रममा मधेश प्रदेशसभाका सांसद रामअशिष यादव, अर्थशास्त्री डा. सुरेन्द्र लाभ र शिक्षाविद् डा. मंचला झाले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरेका हुन् । यस सत्रलाई पत्रकार सुजित झाले सञ्चालन गरेका थिए ।
सांसद रामअशिष यादवले आफ्नो भनाइ राख्दै डिजिटल युगले पठन संस्कृतिमा व्यापक प्रभाव पारेको बताए । उनले प्रविधिले सूचना पहुँच सहज बनाइदिए तापनि यसले पठन संस्कृतिलाई विकेन्द्रित गर्दै केही हदसम्म मानवीय ध्यान र एकाग्रता कमजोर पारेको धारणा व्यक्त गरे । ‘इन्टरनेटको सहज पहुँचले युवा पुस्तालाई सतही जानकारीमा सीमित गराइरहेको छ,’ उनले भने, ‘तर यो प्रविधि सही ढंगले उपयोग गरेमा गहिरो ज्ञान हासिल गर्न सकिन्छ ।’
अर्थशास्त्री डा. सुरेन्द्र लाभले डिजिटल पठनको आर्थिक पक्षमा जोड दिँदै यसले किताब, पत्रिका र छापिएको सामग्रीको माग घटाएको र डिजिटल सामग्रीको बढ्दो प्रयोगले व्यापारिक ढाँचामा परिवर्तन ल्याएको बताए । ‘प्रविधिले ज्ञान सुलभ भएको छ । तर, यसले सूचना र ज्ञानको गहिराइमा खलल पुर्याएको छ,’ उनले भने । ‘डिजिटल सामग्रीले पठन संस्कृतिमा ठूलो बदलाव ल्याए पनि सशक्त पाठकीय बानीको विकास गर्न अझै चुनौती छ ।’
डा. मंचला झाले डिजिटल युगमा पठन–संस्कृतिलाई बचाइराख्न शैक्षिक प्रणाली र पाठ्यक्रममा सुधार आवश्यक रहेको औंल्याइन् । उनले शिक्षण विधिमा डिजिटल प्रविधिको समावेश गराउनुपर्ने र विद्यार्थीहरूलाई अझ गहिरो अध्ययनमा रुचि बढाउने तरिकाहरूको खोजी गर्नुपर्ने बताइन् । ‘डिजिटल प्रविधिले पठनलाई सजिलो र सुलभ बनाएको छ । तर, यसले अध्ययनको गहिराइमा ह्रास आएको हो कि भन्ने चिन्ता बढ्दो छ,’ उनले भनिन् ।
वक्ताहरूले पठन संस्कृतिको प्रवद्र्धनका लागि डिजिटल साधनको विवेकपूर्ण प्रयोग गर्नुपर्ने र शिक्षालाई प्रविधिसँग मिलाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपस्थित सहभागीहरूले पनि डिजिटल युगमा पठन संस्कृतिमा आएको बदलावबारे प्रश्न गर्दै आफ्नो विचार राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


