पाँच दर्जन विद्यार्थीको सामूहिक कोरसमा गुञ्जियो जनकपुरधामको महिमा

जनकपुरधाम, २४ माघ । छैटौं जनकपुर साहित्य महोत्सवमा आजको मुख्य आकर्षणको रूपमा ६० जना विद्यार्थीहरुले प्रस्तुत गरेको सामूहिक कोरसले जनकपुरधामलाई गौरवका साथ गुञ्जायमान बनाएको छ ।
‘इएह छि हमर जनकपुर, ई सीताके जनकपुर’ शीर्षकको गीतमा जनकपुरधामका १० विद्यालयका ५ वर्षदेखि १५ वर्ष उमेर समूहका छात्रछात्राहरुले एकसाथ सुमधुर स्वरमा जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै भावुक प्रस्तुति दिएका हुन् ।
विद्यार्थीहरुले मिथिलाको कला, संस्कृति र पहिचानलाई आफ्ना गीतमार्फत जीवन्त बनाउँदै गीतको बोलमा मात्र सीमित नभई जनकपुरधामको समृद्ध सांस्कृतिक सम्पदा र सीता माताको जन्मभूमिको गौरवलाई पनि सम्पूर्ण दर्शकलाई अनुभूत गराए । कोरस सुन्नेबित्तिकै दर्शकहरुको मनमा जनकपुरधामको धार्मिक महत्त्व र संस्कृतिको गहिराइ प्रत्यक्ष झल्कियो ।
उद्घाटन समारोहमा विद्यार्थीहरुको प्रस्तुतीले जनकपुरधामको साहित्य, कला र संस्कृतिको प्रबद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्यलाई अझ सशक्त बनाएको छ । यस कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका साहित्यकार, कलाकार तथा बौद्धिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । यसले यो महोत्सवलाई झन् विशेष बनाएको छ ।
छैटौं जनकपुर साहित्य महोत्सवको यस्तो उत्कृष्ट विद्यार्थी प्रस्तुति हेर्न नपाउनेहरुले मञ्चमा भएका साना–ठूला प्रतिभाहरुको गौरवमय स्वरको मिठासलाई सम्झन बाँकी भने पक्कै रह्यो ।