गुरुदेव कामतको परिवारलाई ‘अमित झा साहित्य संगीत पुरस्कार’ प्रदान

जनकपुरधाम, २४ माघ । यस वर्षको प्रतिष्ठित ’अमित झा साहित्य संगीत पुरस्कार’ स्वर्गीय शास्त्रीय संगीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ ।
जनकपुरधाम साहित्य महोत्सवको छैटौं संस्करणको उद्घाटन कार्यक्रममा स्वर्गीय संगीतकार कामतकी श्रीमती सगुनवती देवी कामतलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र स्वर्गीय अमित झाका बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार रुपैयाँ राशीको पुरस्कार हस्तान्तरण गरिएको हो ।
’अमित झा साहित्य संगीत पुरस्कार’ नव मिथिला फाउण्डेशनको आयोजनामा हरेक वर्ष प्रदान गरिन्छ । साहित्य र संगीत क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गरिन्छ । गुरुदेव कामतले भारतबाट संगीतमा स्नातक गरेपछि नेपाली शास्त्रीय संगीतमा महत्वपूर्ण योगदान पुर्याएका थिए । गत साउनमा उनी दिवंगत भएका थिए । उनी ’प्रवल जनसेवा श्री’ लगायतका विभिन्न सम्मानले पुरस्कृत भएका थिए । तर, उनले जीवनभर राज्यबाट अपेक्षित सहयोग पाउन सकेनन् ।
पुरस्कार हस्तान्तरण समारोहसँगै महोत्सवमा क्यान्सर रोगबाट पीडित संगीतकार अशोक दत्तलाई ५१ हजार रुपैयाँको आर्थिक सहयोग पनि प्रदान गरिएको छ । संगीत क्षेत्रमा दत्तको उल्लेखनीय योगदानको कदर गर्दै यो सहयोग उनको उपचारका लागि प्रदान गरिएको हो ।
तीन दिनसम्म चल्ने जनकपुरधाम साहित्य महोत्सवको यस संस्करणमा विभिन्न साहित्यिक र सांगीतिक कार्यक्रमहरूको आयोजना हुनेछ । पहिलो दिन राजनीतिक विश्लेषक सीके लालले ’सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो प्रस्तुति राख्नेछन् । यसैगरी, साहित्य अनुरागी भूषिता वशिष्ठले ’अहिलेको महिलावाद अपुष्ट किन छ?’ शीर्षकमा एकल प्रवचन दिनेछिन् ।
महोत्सवको पहिलो दिनको अन्त्यमा साँझ ७ बजेदेखि सांगीतिक साँझको आयोजना हुनेछ । सांगीतिक साँझमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिने महोत्सवका आयोजक नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमार झाले जानकारी दिएका छन् ।