जनकपुरधाम, २४ माघ । नव मिथिला फाउन्डेसनद्वारा आयोजित छैटौं जनकपुर साहित्य महोत्सव ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिममा आजदेखि जनकपुरधामको राम मन्दिर पार्कमा सुरु भएको छ ।

तीन दिनसम्म चल्ने यो महोत्सवले मिथिला क्षेत्रको साहित्यिक, सांस्कृतिक र सामाजिक चेतनालाई उजागर गर्दै विविध सत्रहरूमा गहन छलफल, बहस र समालोचनाका माध्यमबाट ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।

फाउन्डेसनका अध्यक्ष अमित कुमार साहका अनुसार महोत्सवले साहित्य, शिक्षा, अर्थतन्त्र, सुशासन, पर्यटन, खेलकुद, नीति निर्माण र सम्पदा जस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ । उनका अनुसार महोत्सवका तीनै दिन सांगीतिक प्रस्तुति र कविताका विशेष सत्रहरूले महोत्सवलाई थप रचनात्मक र उत्साहजनक बनाउने उद्देश्य राखिएको छ ।

यसपटक महोत्सवमा १४ वटा प्यानल डिस्कसन र ३ वटा एकल प्रवचन हुने उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए । प्रमुख विषयहरूमा ‘जनकपुरधामका चुनौती र अवसरहरू’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट : समस्या, समाधान र सम्भावना’, ‘मधेश महिमा : उत्सवको व्यवसायीकरण’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’ जस्ता १७ वटा शीर्षकमा गहन बहस हुनेछ । साथै, अन्तिम दिन शास्त्रीय संगीतकार स्वर्गीय गुरुदेव कामतको परिवारलाई ‘अमित झा साहित्य संगीत पुरस्कार’ प्रदान गरिनेछ ।

फाउन्डेसनले यस पटक विद्यालयस्तरीय प्रतियोगिताहरूलाई विशेष प्राथमिकता दिएको छ । कविता, शिल्पकला र कथा वाचन प्रतियोगिताका माध्यमबाट स्थानीय विद्यालयका विद्यार्थीहरूलाई महोत्सवमा सहभागी गराइएको छ । यसअघि भएका अन्तरविद्यालय छनोट प्रतियोगिताबाट पाँच जना विद्यार्थी निर्णायक चरणमा छनोट भएका छन् ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरू, विद्यार्थी, राजनीतिज्ञ, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरूको व्यापक सहभागिता रहनेछ । उपाध्यक्ष नेपालले महोत्सवले मिथिलाको साहित्यिक परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन मद्दत गर्ने र यसले मिथिलाको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

यसरी छैटौं जनकपुर साहित्य महोत्सवले मिथिलाको साहित्य, संस्कृति र संस्कारलाई समृद्ध बनाउँदै विश्वव्यापीस्तरमा पुर्याउने प्रयास जारी राखेको छ ।