‘मधेश प्रदेशको पर्यटन प्रवर्द्धनमा नयाँ अवसरहरू’

जनकपुरधाम, २२ माघ । नेपाल–भारत पर्यटन सम्मेलन २०२५ जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ । सम्मेलनले मधेश प्रदेशको पर्यटन प्रवर्द्धनका लागि नयाँ अवसरहरू सिर्जना गरेको विश्वास व्यक्ति गरिएको छ । दुई देशबीचको पर्यटन सम्बन्धलाई थप सुदृढ गर्दै भारत र नेपालबीचको पर्यटक आगमनलाई वृद्धि गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको थियो । सहभागीहरूले स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटनलाई प्राथमिकता दिँदै पर्यटन प्रवर्द्धनका लागि थप व्यवस्थित र संयुक्त पहलहरूमा जोड दिए ।
सम्मेलनमा सहभागीहरूले भारत–नेपाल पर्यटन सम्बन्धलाई थप प्रगाढ बनाउँदै स्थलमार्ग हुँदै पर्यटनको विकासमा विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
सम्मेलनमा नेपाल पर्यटन बोर्डले भारत–नेपाल पर्यटन प्रवद्र्धनका लागि गरेको विभिन्न पहलहरूको चर्चा भयो । स्थलमार्गमार्फत हुने अन्तरदेशीय पर्यटनको योगदानलाई अझ सुदृढ बनाउन आवश्यक नयाँ योजनाहरूको आदान–प्रदान गरिएको थियो ।
रामायण र बुद्ध सर्किटको सन्दर्भमा टुर अपरेटरहरूले दुवै देशका पर्यटकहरूलाई आकर्षित गर्ने सम्भावित यात्रा योजनाहरू प्रस्तुत गरे । यी धार्मिक तथा सांस्कृतिक सर्किटहरूको प्रवर्द्धनबाट भारत–नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्नका लागि संयुक्त प्रयास आवश्यक रहेको ठहर गरियो ।
भारत–नेपालबीच उच्च पर्यटन प्रवाहलाई बढावा दिन भौतिक र डिजिटल कनेक्टिभिटीको महत्त्वबारे पनि छलफल भयो । सीमापार पर्यटनलाई थप व्यवस्थित बनाउन सडक, रेल र हवाई सम्पर्क सुधार बारे आवश्यक प्रयासहरूको समीक्षासमेत गरिएको थियो ।
कार्यक्रममा अर्थविद् प्रा.डा. भोगेन्द्र झाले स्थलमार्गबाट हुने पर्यटनको महत्त्वबारे प्रकाश पार्दै यसलाई अझ व्यवस्थित बनाउन आवश्यक पहलहरूको खाका प्रस्तुत गरे । उनले पर्यटनले मधेश प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने सम्भावनाहरू औंल्याए ।
सम्मेलनका वक्ताहरूले भारत–नेपाल पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन दुवै पक्षले संगठित र सामूहिक प्रयासहरू गर्नु पर्नेमा जोड दिए । पर्यटन प्रवर्द्धनको यो पहलले मधेश प्रदेशलाई मात्र नभई समग्र नेपाललाई पनि अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
सत्रका अध्यक्ष अतुल ठाकुरले नेपाल–भारत पर्यटन सहकार्यलाई तीव्र बनाउन सरकार–उद्योग साझेदारीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले मधेश प्रदेशमा पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि यो सम्मेलनले नयाँ अवसरहरू सिर्जना गर्ने बताए । भारतीय महावाणिज्य काउन्सिलका काउन्सिलर देवीसहाय मीनाले नेपाल र भारतबीचको पर्यटन सहकार्यलाई अझ प्रगाढ बनाउन भौतिक र डिजिटल कनेक्टिभिटीको महत्त्वबारे चर्चा गरे ।
सम्मेलनले मधेश प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि नयाँ अवसरहरूको पहिचान गरेको छ । स्थलमार्ग पर्यटनलाई अझ व्यवस्थित गर्न दुवै देशका सरोकारवालाहरूबीच गहन छलफल भयो । यसले मधेश प्रदेशमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


