‘धरातल, संस्कृति र संस्कारको उत्सव’ : छैटौं जनकपुर साहित्य महोत्सव बिहीबारदेखि सुरु हुँदै

जनकपुरधाम, माघ २२ । नव मिथिला फाउन्डेसनको आयोजनामा छैटौं जनकपुर साहित्य महोत्सव ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिममा बिहीबारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने यो महोत्सव माघ २४, २५, र २६ गते जनकपुरको राम मन्दिर पार्कमा आयोजना हुनेछ ।
फाउन्डेसनले विगत पाँच वर्षदेखि निरन्तर रूपमा यो महोत्सव आयोजना गर्दै आएको छ । यस पटक छैटौं संस्करणमा प्रवेश गर्दै महोत्सवले मिथिलाको साहित्यिक, सांस्कृतिक र सामाजिक चेतनालाई समेटेर विविध सत्रहरू सञ्चालन गर्ने योजना बनाएको छ । अध्यक्ष अमित कुमार साहका अनुसार महोत्सवले साहित्य र समाजका विविध पक्षहरूमा गहन छलफल, बहस र समालोचनाका माध्यमबाट समृद्ध ज्ञानको आदानप्रदान गर्ने उद्देश्य राखेको छ ।
साहित्य, संस्कृति, र विविध पक्षहरूमा बहस
अध्यक्ष साहले भने, ‘यसपटक पनि हामीले साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता महत्वपूर्ण विषयहरूमा सत्रहरू आयोजना गर्ने तयारी गरेका छौं । तीनै दिन सांगीतिक प्रस्तुति र कविताका विशेष सत्रहरू महोत्सवलाई अझ रचनात्मक र उत्साहजनक बनाउने हाम्रो विश्वास छ ।’
फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले यस पटक १४ वटा प्यानल डिस्कसन र ३ वटा एकल प्रवचनको व्यवस्था गरिएको जानकारी दिए । महोत्सवका दौरान ‘जनकपुरधामका चुनौती र अवसरहरू’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट : समस्या, समाधान र सम्भावना’, ‘मधेश महिमा : उत्सवको व्यवसायीकरण’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘नेपालको परराष्ट्र नीति र सिमाञ्चल’, ‘केन्द्रको दृष्टिमा मधेश’, ‘आन्दोलन र साहित्य’, ‘नेपाली उद्यमीको यात्रा’, ‘आनन्दको खोजी’, ‘समाज, साहित्य सिनेमा’, ‘मधेशको मत’, ‘कुलमान घिसिङको एकल प्रवचन’, ‘संविधान, संघियता र कानुनी राज्यको अभ्यास’ लगायतका १७ वटा शीर्षकमा गहन बहस हुनेछ । महोत्सवका अन्तिम दिन शास्त्रीय संगीतकार स्वर्गीय गुरुदेव कामतको परिवारलाई ‘अमित झा साहित्य संगीत पुरस्कार’ प्रदान गरिने पनि उनले बताए ।
विद्यार्थी प्रतियोगिता र विशेष कार्यक्रमहरू
यस वर्षको महोत्सवले स्थानीय विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न प्रतियोगिताहरू पनि आयोजना गरेको छ । फाउन्डेसनले विगतका वर्षहरूमा वक्तृत्वकला प्रतियोगिता गर्दै आए पनि यसपटक कविता, शिल्पकला र कथा वाचन प्रतियोगिताहरूलाई पनि समेटिएको छ । माघ ७, ८, र ९ गते अन्तरविद्यालय छनोट प्रतियोगिता सम्पन्न भई पाँच जना विद्यार्थी निर्णायक प्रतियोगितामा छनोट भएका छन् ।
महोत्सवको उद्घाटन समारोहमा जनकपुरधामका १० विद्यालयका ६० जना छात्रछात्राले ‘इएह छि हमर जनकपुर’ गीतमा कोरस प्रस्तुत गर्नेछन् । यसैगरी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरूको उपस्थिति महोत्सवमा हुनेछ ।
फाउन्डेसनको प्रतिबद्धता
फाउन्डेसनले जनकपुरधामलाई साहित्यिक गतिविधिमा सक्रिय बनाउँदै आएको छ । उपाध्यक्ष नेपालले भने, ‘छैटौं महोत्सवले मिथिलाको साहित्यिक परम्परालाई अझ परिस्कृत गर्दै हाम्रो सांस्कृतिक र सामाजिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
फाउन्डेसनले महोत्सवको माध्यमबाट मिथिलाको अद्वितीय साहित्य, संस्कृति र संस्कारलाई विश्वमाझ पुर्याउने प्रयास जारी राखेको छ ।