मधेश प्रदेश सभाको वार्षिकोत्सवमा जनकपुरधामका आश्रमहरूलाई खाद्य सामग्री हस्तान्तरण

जनकपुरधाम, २० माघ । मधेश प्रदेश सभाले आफ्नो सातौं वार्षिकोत्सव समारोहको अवसरमा जनकपुरधामस्थित मानव सेवा आश्रमलाई महत्वपूर्ण मानवीय सहयोग प्रदान गरेको छ ।
आश्रममा आश्रय लिइरहेका असहाय व्यक्तिहरूलाई मधेश प्रदेश सभा समितिले खाद्य सामग्री सहयोग गरेको हो । यस अवसरमा विभिन्न प्रकारका दैनिक उपभोग्य वस्तुहरू वितरण गरिएका छन् । ३० बोरा चामल, ५० किलो दाल, ५० किलो चिनी, साथै आटा, प्याज र आलुजस्ता सामग्रीहरू समावेश छन् ।
खाद्य सामग्री हस्तान्तरण कार्यक्रम मधेश प्रदेश सभाको सातौं वार्षिकोत्सव मुल समारोह समितिका संयोजक प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा सांसद यादवसँगै अन्य प्रदेश सांसदहरू रुपा यादव, रत्नेश्वर लाल गोइत यादव, हरिनारायण महतो, किरण साह, जिबछी यादव, रमिता प्रधान र राजेन्द्र चौधरीको समेत उपस्थिति रहेको थियो । यसका साथै प्रदेश सभाका चिकित्सक डा. सुजित यादवको पनि सहभागिता थियो ।
यसै अवसरमा जानकी वृद्धा आश्रम र संत कबीर आश्रमलाई पनि खाद्यान्न र कपडा प्रदान गरिएको छ । मधेश प्रदेश सभाले समाजमा सेवाको भावना अभिवृद्धि गर्दै यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिने घोषणा गरेको छ ।


