रौतहट, २० माघ । रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर २५ वर्षीय अमिन रामजी साहको मृत्यु भएको छ । साह गरुडा नगरपालिकामा करारमा कार्यरत अमिन थिए । उनलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।

प्राप्त जानकारी अनुसार साह गरुडा नगरपालिका अन्तर्गतको जयनगरस्थित निर्माणाधीन सार्वजनिक घरको नापी गर्न गएका थिए । त्यहाँ घरको छतमा उभिएर फोन गरिरहेका बेला दुर्भाग्यवश उच्च भोल्टेजको बिजुलीको तारमा छोइएर करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ । यो घटना इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओम प्रकाश यादवले पुष्टि गरेका छन् ।

करेन्ट लागेपछि उनलाई तत्कालै गरुडा नगरपालिकामा सामान्य उपचार गरिएको थियो । उपचारपछि थप चिकित्सा सेवा आवश्यक भएकाले उनलाई वीरगन्जस्थित गण्डक अस्पताल एम्बुलेन्सबाट लगिएको थियो । तर, अस्पतालमा पुगेपछि डाक्टरहरूले साहलाई मृत घोषणा गरे ।

प्रहरी अनुसन्धान जारी रहेको बताएको छ ।