जनकपुरधाम, २० माघ । महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको उपचारको क्रममा मृत्यु भएको छ । मृतक ५६ वर्षीय जोगेन्द्र महरा धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ का स्थायी बासिन्दा थिए । कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार महराको शनिबार राति २ः३० बजेतिर मृत्यु भएको हो ।

महरालाई अचानक पेटमा बेस्सरी दुखाइ भएपछि मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । चिकित्सकीय उपचारको क्रममा नै उनको मृत्यु भएको जानकारी दिइएको छ । क्षेत्रीले भने, ‘महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए । उनको स्वास्थ्य स्थिति कमजोर थियो ।’

जोगेन्द्र महरालाई सन् २०३८ मा धनुषा जिल्लामा भएको आगजनी घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । घटना घटेपछि उनी फरार रहेका थिए । प्रहरीले उनलाई दुई वर्षअघि पक्राउ गरी जलेश्वर कारागारमा कैद भुक्तानका लागि पठाएको थियो ।

महराको मृत्युसँगै कारागार प्रशासनले उनको परिवारलाई जानकारी गराएको छ । कानुनी प्रक्रिया पुरा गरेर उनको शव अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गरिने छ ।