महोत्तरीमा विभत्स हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

जनकपुरधाम, २० माघ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।
१९ वर्षीया खुश्बु यादवको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खुश्बु गौशाला नगरपालिका वडा नं ८ निवासी अभिषेक यादवकी श्रीमती हुन् ।
घटना गौशाला नगरपालिका वडा नं ५ स्थित विद्युत् प्राधिकरण कार्यालयबाट ५ सय मिटर उत्तरतिरको खेतमा भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तुलाल जैसवारका अनुसार खुश्बुको शव अत्यन्तै दर्दनाक स्थितिमा भेटिएको छ । धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको आशंका गरिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार खुश्बु गएराति घरबाट बाहिर निस्केकी थिइन् । बिहान उनको शव खेतमा फेला परेको हो । घटनाको समयमा के भएको थियो र किन उनी राति घरबाट बाहिर निस्किएकी थिइन् भन्ने कुरा हालसम्म खुल्न सकेको छैन । प्रहरी घटनाको अनुसन्धानमा जुटेको र यस विषयमा थप विवरणहरू संकलन भइरहेको जनाएको छ ।
स्थानीय बासिन्दाहरू घटनाबाट स्तब्ध छन् भने सुरक्षा निकायले घटनाको गम्भीरतासाथ अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ ।