जनकपुरधाम, १९ माघ । नबिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिरहेको नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरसिप (सर्टिफिकेट कोर्स) कार्यक्रमलाई मधेश प्रदेशको राजधानी जनकपुरधामसम्म विस्तार गरेको छ ।

यस कार्यक्रमको पहिलो कोहर्टको औपचारिक शुरुवात शनिबार मोनाष्टिक आवासिय माध्यमिक विद्यालयमा गरिएको हो ।

नबिल बैंक र मोनाष्टिक विद्यालयको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रममा २५ जना सहभागी भएका छन् । सहभागीमध्ये १२ जना महिला र १३ जना पुरुष छन् । सहभागीहरू विभिन्न व्यवसायिक तथा कलात्मक क्षेत्रमा संलग्न छन् । जसमध्ये ३ जनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कार्य जस्ता क्षेत्रमा योगदान पुर्याएका छन् भने अन्य ५ जनाले होलसेल व्यापार, अचार उत्पादन, इलेक्ट्रोनिक सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसाय सञ्चालन गरिरहेका छन् ।

यस कार्यक्रममा सहभागी हुनेहरू जनकपुरधाम, मिथिला बिहारी नगरपालिका र जनकपुरधाम–९ पिडारी चोकका विभिन्न क्षेत्रका उद्यमी हुन् । यस कार्यक्रमले सामाजिक उद्यमशिलतामा रुचि राख्ने नयाँ उद्यमीहरूलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । तीन महिनाको अवधिमा सहभागीहरूलाई १४ दिनको एक्सन बेस्ड तालिम दिइनेछ ।

तालिममा ब्रान्डिङ, मार्केटिङ, उद्यमशिलताको विविध पक्षमा प्रशिक्षण हुनेछ । साथै, अनुभवी उद्यमी र प्रशिक्षकहरूसँगको अनुभव आदानप्रदान, कार्यशाला र फिल्ड भिजिट कार्यक्रम पनि समावेश गरिएको छ ।

कार्यक्रमको पहिलो कोहर्टलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, नेपाल राष्ट्र बैंकका निर्देशक डिल्लीराम सुवेदी, नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी, मोनाष्टिक विद्यालयका प्रबन्ध निर्देशक डा. सोनु कुमार साहलगायतकाहरुले उद्यमशिलताको महत्त्वमा जोड दिए ।

नबिल बैंकले यस किसिमको कार्यक्रमबाट हालसम्म ८६६ जनालाई सहभागी गराइसकेको छ । जसमध्ये ५९९ जनाले कोर्स पूरा गरिसकेका छन् । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्न देशभरका सात प्रदेशका ११ वटा शैक्षिक संस्थासँग सहकार्य गर्दै सर्टिफिकेट कोर्स र फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको म्यानेजमेन्ट संकायसँगको सहकार्यमा भइरहेको छ भने सर्टिफिकेट कोर्स विभिन्न शैक्षिक संस्थाहरूसँग मिलेर सञ्चालन हुँदै आएको छ ।

यस कार्यक्रमले हालसम्म ११७ वटा उद्यमको स्थापना र १ हजार २०० भन्दा बढीलाई रोजगारी प्रदान गरिसकेको छ । यस कार्यक्रमले स्थानीय आर्थिक विकासमा सकारात्मक योगदान पुर्याइरहेको छ ।