सर्लाही, १८ माघ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–७ स्थित ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामक प्लास्टिक झोला उद्योगमा भीषण आगलागी भएको छ ।

विद्युत् सर्टका कारण भएको आगलागीले उद्योग पूर्णरूपमा नष्ट भएको छ । आगलागीले उद्योगसँगै रहेको घरधनी नेत्रबहादुर कार्कीको घर पनि पूर्ण रूपमा नष्ट भएको छ भने छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको छ ।

उद्योग सञ्चालन गरिरहेका रामछविला साहले कार्कीको घर भाडामा लिएर प्लास्टिक झोला उत्पादन गर्दै आएका थिए । साहका अनुसार आगलागीका कारण सम्पूर्ण उपकरण, तयारी सामान, कच्चा पदार्थलगायत उद्योगका सबै सामग्री नष्ट भएको छ । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट ७ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको दाबी गरिएको छ ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र हरिवन तथा मलङ्गवा नगरपालिकाका वारुणयन्त्रहरूको सक्रियतामा करिब साढे दुई घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक श्रेष्ठले आगलागीको कारण प्रारम्भिक रुपमा विद्युत् सर्ट रहेको जनाउँदै थप अनुसन्धान भइरहेको जानकारी दिए ।