जनकपुरधाम, माघ १८ । जनकपुरधामको बलवाटोल निवासी ४५ वर्षीय नवलकान्त मिश्र र उनका २ वर्षीय छोरा कार्तिक मिश्र २९ जनवरीका दिन भारतको प्रयागराजस्थित संगम घाटमा आयोजित महाकुम्भ स्नानको क्रममा भएको भागदौडमा फँसेर बेपत्ता भएका छन् ।

उक्त घटना महाकुम्भ मेलामा भएको भीडको कारणले भएको हो । मेलामा लाखौं तीर्थयात्री महाकुम्भ स्नानका लागि प्रयागराजमा उपस्थित थिए ।

नवलकान्त मिश्र र उनका छोराको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । मिश्रकी पत्नी र छोरी भने मेलामा भएको भागदौडपछि आफ्नो साथीसँग सम्पर्कमा आइपुगेका छन् । तर, उनका श्रीमान् र २ वर्षीय छोराको अवस्थाबारे अज्ञात रहेको भन्दै उनले खोजी कार्यमा सहयोग गर्न हारगुहार गरिरहेकी छन् ।

मिश्र परिवारका सदस्यहरू जनकपुरधामका स्थानीय प्रशासन, भारतीय सुरक्षा निकाय र महाकुम्भ मेलाका व्यवस्थापन समितिहरूलाई समन्वय गरेर आफ्ना प्रियजनहरूको खोजी गरिरहेका छन् ।

यता, जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका कर्मचारी मेहिलाल यादवकी आमा ७५ वर्षीय केवला देवी यादव पनि महाकुम्भ मेलामा बेपत्ता भएकी छिन् ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं. १० खयरमारा गाउँ निवासी केवला देवी महाकुम्भ स्नानका लागि गएका बेला हराएकी हुन् । परिवारका सदस्यहरूले पनि उनकी आमा हराएको पुष्टि गर्दै खोजीको लागि विभिन्न सुरक्षा निकायसँग सम्पर्क गरिरहेका छन् ।

महाकुम्भ मेलामा यसपटक संगम घाटमा भएको भागदौडले धेरैलाई प्रत्यक्ष असर गरेको छ । हराएका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा प्रयागराज प्रशासन, भारतीय सेना, प्रहरी र स्वयंसेवी संस्थाहरू सक्रिय रहेका छन् ।

जनकपुरधामका स्थानिय प्रशासन र जनसमुदायले पनि नवलकान्त मिश्र र उनका छोराका साथै अन्य हराएकाहरूको खोजीमा सहयोग गर्न आह्वान गरेका छन् ।