धनुषामा बाह्रौं ‘मुहदुसा’ उत्सव, लाटोकोसेरो तथा हुचिल संरक्षणमा विशेष योगदान

जनकपुरधाम, १६ माघ । धनुषा जिल्लाको मिथिलेश्वर मौवाहीमा यस वर्ष बाह्रौं लाटोकोसेरो तथा हुचिल (मुहदुसा) उत्सव भव्य रूपमा आयोजना हुने भएको छ ।
यो उत्सव यही माघ २५ र २६ गते मिथिला वाइल्ड लाइफ ट्रस्टको आयोजनामा र प्रकृतिका साथीहरू संस्थाको सहकार्यमा सम्पन्न हुनेछ । नेपाल, अमेरिका र इटालीमा मात्र आयोजना हुने यो अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवले लोपोन्मुख लाटोकोसेरो तथा हुचिल संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखेको छ ।
उत्सव संयोजक देवनारायण मण्डलले महोत्सवको तयारी तीव्रताका साथ भइरहेको जानकारी दिए । उनले महोत्सवलाई सहभागीपूर्ण बनाउन विभिन्न विद्यालयहरूसँग सहकार्य गरी विद्यार्थीहरूबाट लाटोकोसेरो संरक्षणसम्बन्धी चित्रकला, कविता, निबन्ध संकलन, तथा निमन्त्रणा वितरण भइरहेको बताए । उत्सवको प्रचार–प्रसार र व्यवस्थापनमा पनि तीव्रता आएको छ ।
प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यका अनुसार लाटोकोसेरोलाई ‘किसानको साथी’ मानिन्छ । यसले प्राकृतिक सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यो उत्सवका क्रममा लाटोकोसेरोसम्बन्धी लघु म्युजियम प्रदर्शनी, चरा अवलोकन, प्रकृतिको तस्विर खिच्नेजस्ता रोचक कार्यक्रमसमेत राखिएका छन् । साथै, स्थानीय लोपोन्मुख खेलहरू जस्तै सुररा, गिली डन्डा, ती ती ती खपडा फुटाई, गोटी गोटीजस्ता परम्परागत खेलहरूको प्रदर्शन र प्रतियोगिता सञ्चालन गरिनेछ ।
उत्सवमा आठ किसिमका लाटोकोसेरोका आवाज सुन्ने विशेष व्यवस्था गरिनेछ । नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये ८ प्रजाति दुर्लभ छन् । यसको संरक्षणका लागि उत्सवले महत्त्वपूर्ण सन्देश प्रवाह गर्नेछ । उत्सवमा सहभागीहरूले त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान संग्रहालयबाट ल्याइएको लाटोकोसेरोको नमुना, रोबोट लाटोकोसेरो, सूचना र चित्र प्रदर्शनीसमेत अवलोकन गर्न सक्नेछन् ।
कार्यक्रमको अर्को आकर्षण भनेको संरक्षणकर्मीहरूको सम्मान हो । वन्यजन्तु अनुसन्धान र संरक्षणमा विशेष योगदान पुर्याउने त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. हरिप्रसाद शर्मा, पत्रकार अभयराज जोशी, हेमन्त ढकाल र भूमिरमण ढकाललाई नगद २५ हजारसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । यसैगरी, डा. एसके सिंह, पत्रकार रज्जन भण्डारी र विजयकुमार साहलाई संस्थागत सम्मान प्रदान गरिने मिथिला वाइल्ड लाइफ ट्रस्टका कोषाध्यक्ष रसिलाल पण्डितले जानकारी दिएका छन् ।
लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले आयोजना गरिने यो उत्सवले वन विनाश, अवैध चोरी निकासी र विषादी प्रयोगले लोपोन्मुख अवस्थामा पुगेका प्रजातिहरूको संरक्षणमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


