जनकपुरधाम, १५ माघ । जनकपुरधामको ऐतिहासिक सिया रघुनाथ सदन मन्दिरको जग्गामा भइरहेको अवैध निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाले रोक लगाएको छ ।

गुठीको जग्गामा बिना नक्सापास गैरकानूनी रूपमा निर्माण कार्य भइरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले उक्त काम तत्काल रोक्न निर्देशन दिएको हो ।

उपमहानगरपालिकाको नगर प्रहरीको टोली निर्माण स्थल पुगेर काम रोक्नका साथै निर्माण सामग्रीसमेत जफत गरेको छ ।

जनकपुरधामको बिहारकुण्डस्थित सिया रघुनाथ सदनको जग्गामा भूमाफियाहरूले धमाधम अवैध रूपमा निजी घरहरू निर्माण गरिरहेका थिए । यो प्रक्रिया बिना कुनै कानुनी अनुमति र बिना उपमहानगरपालिकाको इजाजतले भइरहेको थियो ।

लगभग १९ करोड रुपैयाँ भन्दा बढी मूल्य रहेको यो जग्गामा भूमाफियाहरूले बिना जानकारी र अवैध रूपमा भवन निर्माण गर्नेहरूबाट प्रतिधुर लाखौं रुपैयाँ असुल गरिरहेका थिए ।