जनकपुरधाम उपमहानगरका इन्जिनियर साहमाथि कार्यालय परिसरमै कुटपिट, कानूनी कारवाहीको माग

जनकपुरधाम, १४ माघ । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा सोमबार दिउँसो करिब २ बजे एक कर्मचारीमाथि कुटपिट गरिएको आरोप लगाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मुरली चौकका बासिन्दा सोनु झाले उपमहानगरका इन्जिनियर सुनिल कुमार साहमाथि अपशब्द प्रयोग गर्दै आक्रमण प्रयास गरेको आरोपमा कारवाहीको माग गरिएको हो ।
इन्जिनियर सुनिल कुमार साह आफ्नो दैनिक खानाको लागि बाहिर निस्किरहेका बेला सोनु झाले उनलाई पछ्याएर धम्क्याउने शैलीमा अपशब्द प्रयोग गर्दै लखेटेको बताइएको छ । यो क्रियाकलाप भयाङबाटै सुरु भई तल दर्ता चलानी हुने ठाउँसम्म पुगेको सुनिलले बताए । साहले स्थिति सम्हाल्न र सम्झाउन प्रयास गर्दा सोनु झा थप उग्र हुँदै साहलाई गालामा हात लाउँदै कुट्ने प्रयास गरेको बताइएको छ ।
साहले उक्त घटनाबारे जनकपुरधाम उपमहानगरपालिकामा निवेदन पेश गर्दै यो सार्वजनिक अपराध भएको भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । साहका अनुसार यो घटना अत्यन्तै अपमानजनक र दन्डनीय हो । यसले उनीमाथि शारीरिक हिंसा गर्ने प्रयास मात्र नभई सार्वजनिक मर्यादाको उल्लङ्घन गरेको उनको भनाइ छ ।
साहले आफूलाई पदीय जिम्मेवारी निर्वाह गर्नमा अवरोध पुर्याइएको र आफ्नै सुरक्षामा खतरा महसुस भएको बताए । उनी भन्छन्, ‘म एक इन्जिनियरको रूपमा आफ्नो काममा ध्यान दिन चाहन्छु । तर, यस्तो किसिमको अप्रिय घटनाले मेरो व्यक्तिगत सुरक्षामा जोखिम उत्पन्न गरेको छ । मैले उक्त व्यक्तिलाई सम्झाउन खोज्दा उनले थप आक्रामक रुपमा आक्रमण प्रयास गरेका थिए ।’
साहले आफ्नो निवेदनमा यो घटना सार्वजनिक अपराधमा पर्ने भएकोले कानुनी रुपमा सोनु झामाथि कडा कारबाही गरिनुपर्ने र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गरिनुपर्ने माग गरेका छन् । उक्त निवेदन स्थानीय प्रशासनमा पेस गरिएको छ । र, घटनाको छानबिनका लागि शुरुवात भइसकेको बताइएको छ ।
साहले भने, ‘सार्वजनिक अपराधको यस्तो घटनाले व्यक्तिगत स्वतन्त्रता र सुरक्षामाथि प्रत्यक्ष प्रभाव पार्छ । सामाजिक शान्ति र सद्भाव कायम गर्नका लागि कडा रूपमा सम्बोधन गरिनु आवश्यक छ ।’
यसअघि पनि २०८० साउन १३ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहका छोरा राजकुमार (राज) साहले कर्मचारीलाई कुटपिट गरेका थिए । मेयरका छोरा राजले भुक्तानी किन नगरेको भन्दै उपमहानगरपालिकाका लेखा फाँटमा कार्यरत्त एक कर्मचारीलाई कुटपिट गरेका थिए ।
मेयरका छोरा राजले कार्यालय समयमै मेयरको गोप्य कोठामा बोलाएर लेखा फाँटमा कार्यरत्त एक कर्मचारीलाई भुक्तानी किन नगरेको भन्दै कुटपिट गरेका थिए । मेयर साहको घरमा पर्दा लगायतका सामग्री प्रयोग भएको र कुनै होटलको बिल बनाएर उनका छोराले भुक्तानी माग गरेका थिए । तर, कार्यव्यस्तताका कारण भुक्तानी हुन नसकेपछि उनका छोरा राज कर्मचारीमाथि जाइलागेका थिए ।
स्रोतका अनुसार मेयर साहले आफ्ना आफन्त सहितका आसेपासेलाई आर्थिक वर्ष २०७९/०८० मा बाँडेको योजना र केही निजी काममा खर्च भएको रकमको चेक नबनाएको कारण राजले कर्मचारीलाई मेयरको कक्षमा बोलाएर उनी र उनीसँगै दुई जना युवकले चेक किन बनाएको भन्दै दुव्र्यवहार गर्दै हातपात गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


